तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय कुस्तीमा नेपालका थापा प्रथम, भारतका कालिचिता द्वितीय

भैरहवा । लुम्बिनी राष्ट्रिय महोत्सवका अवसरमा भैरहवामा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि पश्चिम नवलपरासीका बसन्त थापाले हात पार्नुभएको छ ।

बुधबार भएको फाइनल खेलमा भारतको पन्जाबका कालिचिता पहलवानलाई पराजित गर्दै थापा पहिलो हुनुभएको हो भने कालिचिताले दोस्रो स्थानमा चित्त बुझाउनुभयो ।

पहिलो स्थान हासिल गर्न सफल थापाले २५ हजार तथा दोस्रो भएका कालिचिताले १५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । यस्तै, पन्जाबकै अशोक पहलवान तेस्रो, वीरगन्जका बाबा पहलवानले प्रतिस्पर्धा नगरेपछि अशोक तेस्रो स्थान हुन सफल हुनुभएको हो । उहाँले नगद ११ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

विजेता खेलाडीहरूलाई महोत्सव एवं कुस्ती प्रतियोगिता आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कोषाध्यक्ष गोविन्द ज्ञवाली, खेल संयोजक हरिबहादुर थापा, प्रचारप्रसार संयोजक कृष्णप्रसाद घिमिरे, सिद्धार्थनगर नगरपालिकाका प्रशासन प्रमुख शेखरनाथ पन्थी लगायतले नगद, ट्रफी र मेडल प्रदान गर्नुभएको थियो ।

मङ्सिर २३ बाट सुरु महोत्सवमा २६ देखि २८ गतेसम्म तीन दिन अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता भएको थियो । कुस्तीको लोकप्रियतालाई कायम राख्दै महोत्सवमा अधिक दर्शक भित्र्याउन र खेल संस्कृतिको विकास गर्न भन्दै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो । कुस्तीमा नेपालका ८ र भारतका पुरुष तथा महिला गरी १४ जना पहलवानहरूको प्रतिस्पर्धा रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button