तपाईँ सुन्दै हुनुहुन्छः

न्यायालयका समस्या क्रमशः समाधानउन्मुख : कामु प्रधान न्यायाधीश

गलकोट । सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनमा देखिएका समस्या क्रमशः समाधान उन्मुख भएको बताउनुभएको छ । उहाँले सामूहिक प्रयासमा न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै पाँच वर्ष नाघेका मुद्दालाई छुट्टै व्यवस्थापन गरी फर्छ्यौट गर्न थालिएको बताउनुभयो । 

आज उच्च अदालत पोखरा बागलुङ इजलास  भवनको यहाँ आयोजित शिलान्यास कार्यक्रममा उहाँले सर्वोच्च अदालतले गोलाप्रथाद्वारा न्याय सम्पादन गर्ने, पाँच वर्ष नाघेका मुद्दाको छुट्टै व्यवस्थापन गर्ने र न्यायालयमा विचलन आउन नदिन न्यायालय सुधारका धेरै योजना अहिले कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । 

“न्यायालयमा केही समस्या नभएका होइनन् छन्, त्यसलाई बिस्तारै सुधार गर्न लागिएको छ, अहिले गोला प्रथाद्वारा न्याय सम्पादन भइरहेको छ, पाँच वर्ष बढीका मुद्दालाई तीव्र रुपमा फर्छ्यौट गर्ने कार्य भइरहेको छ”,कार्कीले भन्नुभयो “अल्पकालीन अन्तरिम आदेश लिएर लामो समय अल्झाउने कार्यलाई अहिले एक हप्ताभित्रै ल्याएका छौँ, सामूहिक प्रयासमा मात्रै न्याय सम्पादन सहज बनाउन सकिन्छ ।” 

उहाँले अदालतका पूर्वाधार गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो । विसं २०७२ को भूकम्पले क्षति पुगेको भवन सात वर्षपछि पुनःनिर्माण थालिएको हो । ३० महिनाभित्र अदालतको मुख्य भवन तथा आवास निर्माण सक्ने गरी रु ५७ करोड४२ लाखमा श्यामसुन्दर पशुपति जेभी काठमाडौँले ठेक्कामार्फत काम सुरु गरेको छ । अहिले उच्च अदालतको पुरानो भवन भत्काउने कार्यले तीव्रता पाएको छ । 

अदालतको भवन प्रविधि, अपाङ्गता, भूकम्प प्रतिरोधी बागलुङ बजारमा निर्माण भइरहेका अन्य भवन भन्दा ठूलो र आधुनिक भएको भवन निर्माणको प्राविधिक सहयोगी सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button