विपद् जोखिम न्यूनीकरणका सफल अभ्यासलाई सरकारले प्राथमिकता दिन्छ: गृहसचिव
काठमाडौँ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा भए गरेका सफल अभ्यासलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ ।
गृह मन्त्रालयले आज विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएका स्थानीय तह र सङ्घसंस्थासँगको परामर्शका क्रममा गृहसचिव सिंहले भन्नुभयो, “विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपालमा जनचेतना फैलाउने काम पर्याप्त भए पनि विपद्मैत्री विकास निर्माणसम्बन्धी नीति नियम बन्न सकेका छैनन् ।’
सचिव सिंहले सरोकारवाला निकाय गम्भीर बन्न नसकेका कारण विकास निर्माण सम्बन्धमा भएका नीति नियम तथा कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले पछिल्ला दिनमा विकास निर्माणका नाममा भइरहेको सडक विस्तारको दीर्घकालीन असरबारे पूर्वानुमान गरी आवश्यक नीतिगत व्यवस्था गर्न नसक्दा भविष्यमा पनि त्यसबाट पुग्न सक्ने ठूलो क्षति भोग्न बाध्य हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले सडक विस्तार, ढुङ्गा, गिट्टी बालुवाको व्यवसायमा रहेको विद्यमान मापदण्ड कार्यान्वयनमा तीन वटै तहका सरकार असफल रहेको स्वीकार गर्नुभयो ।
कार्यक्रममा एशियाली प्रकोप पूर्वतयारी केन्द्र नेपालका प्रतिनिधि मानबहादुर थापाले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि गरेका प्रयास अत्यन्तै प्रभावकारी भएको बताउनुभयो । उहाँले नेपालका स्थानीय तहले विपद् जोखिम न्यूनीकरणका लागि गरेका प्रयास अन्य देशमा पनि अनुकरण गर्ने गरेको बताउनुभयो । उहाँले विसं २०५३ देखि सुरु भएको समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएपछि अहिले विश्वका अन्य देशले पनि सोही अवधारणाअनुसार विपद् जोखिम न्यूनीकरणमा लागेको बताउनुभयो ।
गृह मन्त्रालयका विपद् व्यवस्थापन प्रमुख एवं सहसचिव प्रदीप कोइरालाले विपद् व्यवस्थापनमा सरकार एक्लैले केही गर्न नसक्ने भएकाले सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनमा स्थानीय तहमा भएका प्रयास प्रभावकारी देखिएको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्