तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरले हटायो पार्किङ शुल्क

कास्की । पोखरा महानगरपालिकामा अब पार्किङ शुल्क नलाग्ने भएको छ । पोखराका मेयर धनराज आचार्यले गत असारमा घोषणा गरेअनुसार अब पार्किङ शुल्क नलाग्ने भएको हो ।

विभिन्न क्षेत्रमा पार्किङबापत शुल्क उठाउन महानगरले निजी कम्पनीसँग गरेको ठेक्का आज मङ्गलबार सकिएको हो । मेयर आचार्यले यस ठेक्काको म्याद सकिएपछि पार्किङ निःशुल्क हुने गत असारमै घोषणा गर्नुभएको थियो ।

महानगरले यसअघि वि.सं २०७७ सालको मङ्सिर १४ गते महानगर भित्रको पार्किङ व्यवस्थापन सङ्कलनका लागि निजी कम्पनी फेवा सावित्री जोइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरेको थियो । २ वर्षका लागि भएको उक्त ठेक्का सम्झौतामार्फत महानगरले तीन करोड १६ लाख ७० हजार रुपैयाँ प्राप्त गरेको थियो ।

सोही सम्झौताअनुरूप कम्पनीले २०७७ सालको मङ्सिर २८ देखि २०७९ सालको मङ्सिर २७ गतेसम्म पोखराका विभिन्न क्षेत्रमा पार्किङ व्यवस्थापन भनेर शुल्क उठाउँदै आएको छ । कम्पनीले हाल प्रतिदिन पार्किङ शुल्क भनेर मोटरसाइकल र स्कुटरलाई १० रुपैयाँ उठाउँदै आएको छ । यसैगरी ठुला सवारी साधनलाई प्रति घण्टा ३० रुपैयाँ उठाइएको थियो भने कम्पनीले मझौला सवारी साधनलाई मुख्य सडक क्षेत्रमा ३० रुपैयाँ प्रतिघण्टा, हलुका सवारी साधनमा २० रुपैयाँ प्रति घण्टा शुल्क उठाउँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button