औद्योगिक र सीमा सुरक्षालाई प्रभावकारी बनाउन उद्योगी व्यवसायीको माग
वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध गुप्ताले वीरगञ्ज तथा बारा, पर्सा क्षेत्रमा शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउँदै सीमा सुरक्षासम्बन्धी बैठक नियमित हुनुपर्नेमा जोड दिनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा आज वीरगञ्जमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित प्रहरीका वरिष्ठ अधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै संघका अध्यक्ष गुप्ताले औद्योगिक सुरक्षा बलको पुनर्स्थापना हुनुपर्ने, वीरगञ्जमा बस्ने बाहिरी व्यक्तिहरूको विवरण सङ्कलन गरी डाटाबेस तयार गर्नुपर्ने, वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजनाको लागि बजेट विनियोजन गर्नुपर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कार्य सम्पादनमा समन्वय हुनुपर्ने लगायतका विषयमा सुरक्षा प्रमुखहरूको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा उठाइएका विषयवस्तुहरूलाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।
उहाँहरूले वीरगञ्ज आर्थिक र व्यापारिक नगरी भएकोले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरूपको सुरक्षा व्यवस्था मिलाउन दुवै प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताउँदै व्यवहारिक कठिनाईहरुलाई निरुपण गर्न आ–आफ्ना मातहतका अधिकृतहरूलाई निर्देशन दिइसकेको बताउनुभयो ।
कार्यक्रममा वीउवासङ्घका पूर्व अध्यक्ष प्रदीप केडिया, निवर्तमान अध्यक्ष गोपाल केडिया, का.स.स. हरि पन्तले सिसिटिभी परियोजनाको विस्तार र पर्यटन प्रहरीका लागि आवश्यक सवारी साधन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक मसाऊद आलम खाँ, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर, प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, ट्राफिक प्रहरी उपरीक्षक नान्ति राज गुरुङ, प्रहरी अधिकृतहरू, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायत उद्योगी, व्यवसायीहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्