धाप ड्यामले पर्यटन प्रवर्द्धन समेत गर्नेछ : मन्त्री चौधरी

काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले गोकर्णेश्वर नगरपालिकामा निर्मित धाप ड्यामको सोमबार निरीक्षण गर्नु भएको छ । निरीक्षणका क्रममा उनले धाप ड्यामले पर्यटन प्रवर्द्धनमा समेत ठुलो योगदान गर्ने बताएका छन् ।
शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरूका निरीक्षण गर्ने क्रममा गोकर्णेश्वर पुगेका मन्त्री चौधरीले भन्नुभयो, ‘यस ड्यामको निर्माणले बागमती सफाई गर्ने, बागमतीलाई सुन्दर बनाउने अभियानमा त सहयोग गर्ने नै छ । त्यसका साथै यहाँको पर्यटन प्रवर्द्धनमा समेत ठुलो योगदान गर्ने देखेँ ।’ मन्त्री चौधरीले नागमतीमा समेत यस्तै खाले ड्याम बनाउने योजना सुनाउनु भयो ।

एडिबी र नेपाल सरकारको संयुक्त लगानीमा रु ४१ करोडमा निर्माण भएको उक्त ड्यामको उद्देश्य बागमतीमा पानी पठाएर पानीको बहाव नियमित गर्ने रहेको इन्जिनियर रामबाबु शाहले बताउनुभयो । विशेषगरि सुख्खा याममा बागमती नदीमा पानीको बहाब घट्न गई दुर्गन्ध फैलनबाट बचाउने र चाडपर्वहरूका बेला समेत नदीमा पानी पठाउने लक्ष्य राखिएको इन्जिनियर शाहको भनाइ थियो ।
सन् २०१७ मा सुरु भएको उक्त ड्यामको अब भने टेस्टिङ र कमिसनिङको काम मात्र बाँकी रहेको बताइएको छ ।










प्रतिक्रिया राख्नुहोस्