संसद् सेवालाई स्वायत्त बनाइनु पर्छ : अध्यक्ष तिमल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसद् सेवालाई व्यवस्थित बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
१६ औँ संघीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमल्सिनाले संसद् सेवा अरू सेवाभन्दा विशिष्ट भएकाले सोही अनुसार कार्यसम्पादन गर्न संसद् सचिवालयका सम्पूर्ण कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटले संसद् सचिवालयमा काम गर्ने कर्मचारीको वृद्धि विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पूर्वसभामुख रानाभाटले संसद् सचिवालय स्वायत्त र प्रभावकारी भए मात्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो ।
त्यसैगरी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले निजामती सेवामा कार्यरत कर्मचारीलाई संसद् सचिवालयमा प्रवेश गर्न कठिन हुने गरेको गुनासो गर्नुभयो ।
यस अवसरमा प्रशासन विज्ञ काशीराज दाहाल र संसद् सचिवालयका सचिव सुदर्शन खड्काले संसद् सेवाको समीक्षा र आगामी कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका निवर्तमान सभापति परशुराम मेघी गुरुङले संसद् सेवा ऐन संशोधन गर्न राजनीतिक दलहरूको सहमति रहने बताउनुभयो ।
संसद् सचिवालयका पूर्वसचिवहरु मुकुन्द शर्मा र सोमबहादुर थापाले पनि प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो








प्रतिक्रिया राख्नुहोस्