तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका विकासमा प्रदेश सरकार प्रतिबद्ध: मन्त्री सोडारी

अछाम । सुदूरपश्चिम प्रदेशका भौतिक विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले चिसापानी–जंगलघाट–मङ्गलसेन सडकलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

उक्त सडकले अछामका साथै बाजुरा, डोटी, सुर्खेत लगायतका जिल्लालाई तराइसँग छोटो दूरीमा जोड्ने मन्त्री सोडारीको भनाई छ ।

सोमबार अछामको मङ्गलसेनमा पुग्नुभएका मन्त्री सोडारीले यस क्षेत्रको सडक, स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । भौतिक विकास मन्त्री सोडारी र प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्री बलबहादुर सोडारी प्रदेश सरकारका योजनाको अनुगमन गर्न अछाम पुग्नुभएको हो ।

सोही अवसरमा मङ्गलसेन नगरपालिकाले मन्त्री द्वयलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको भवनमा मन्त्री द्वयलाई फुलमाला, अबिर र मन्तव्यबाट स्वागत गरिएको हो ।

मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले प्रदेशसभा सदस्यमा पुनः निर्वाचित हुनुभएको भन्दै मन्त्री सोडारीलाई बधाई तथा मुख्यमन्त्रीका लागि शुभकामना दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button