सोँचलाई उद्यमसम्म, उद्यमलाई बजारसम्म

काठमाडौँ । नयाँ व्यावसायिक विचार भएका युवाहरूलाई उद्यमतर्फ आकर्षित गर्न सघाउँदै आएको आइडिया स्टुडियो नेपालले संस्थामा प्राप्त केही विचारहरूलाई उद्यमका रुपमा अगाडि बढाएको छ ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच विभिन्न ३ वटा व्यापारिक विचारका आधारमा युवा उद्यमीहरूबाट उत्पादित बस्तुहरू बजारीकरणका लागि सार्वजनिक गरिएको हो

कार्यक्रममा डा भिमप्रसाद काफ्लेको उत्पादन न्यानो प्याड, प्रशन्ना श्याउला र प्रज्वल जोशीको विचारका आधारमा पुराना तथा खेर जाने जिन्सका कपडा प्रयोग गरी तयार पारिएको जुत्ता चप्पल झोला तथा युवा उद्यमी यामनाथ गिरीको उत्पादन बायो ग्रीन्सको सार्वजनिकीकरण गरिएको हो ।
डा भिमप्रसाद काफ्लेको उत्पादन न्यानो प्याड जाडोका बेलामा न्यानोका लागि जुनसुकै बेला प्रयोग गर्न सकिन्छ ।

न्यानो प्याडलाई एकपटक उमालेको पानी वा सोलारबाट चार्ज गरेपछि जुनसुकै बेला प्रयोग गर्न सकिन्छ र यसले करिब आधा घण्टा शरीरलाई न्यानो राख्न सहयोग गर्दछ ।
उत्पादन सार्वजनिकीकरण कार्यक्रममा आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले सोँच देखी उद्योग सम्म र उद्योग देखी बजार सम्मको माध्यमबाट स्टुडियोले विशेषगरी युवाहरूलाई उद्यम तर्फ जोड्दै आएको बताउनुभयो ।

कार्यक्रममा उद्यमविद् सुशील थापा र मान्सी अग्रवाल, पर्यटनविद् खेम लकाई, आइडिया स्टुडियो नेपालका बिपना पन्थी लगायतले स्थानीय श्रोत–साधन र प्रविधिलाई उद्यममा परिणत गरी आफ्नै देशमा स्वरोजगार बन्न सकिने भएकाले मुलुकको समृद्धिका लागि नयाँ विचारहरूको उद्यममा रूपान्तरण गर्ने जस्ता कार्य निकै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँहरूले थोरै लगानीबाट सुरु गरिने यस्ता व्यवसायलाई विस्तार गर्दै जानुपर्ने पनि बताउनुभयो ।












प्रतिक्रिया राख्नुहोस्