तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा तथा महोत्तरीका चार पालिकाका किसानलाई ६० टन अनुदानको बीउ वितरण

जनकपुरधाम । धनुषा तथा महोत्तरीको ४ गाउँपालिकामा विश्व बैङ्कको आर्थिक सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाले उन्नत जातको ६० टन गहुँको बीउ किसानलाई वितरण गरेको छ । 

मानव सूचकाङ्कको दृष्टिकोणले पछाडि परेका धनुषाको धनौजी तथा मुखियापट्टी र महोत्तरीको पिपरा तथा एकडारा वेला गाउँपालिकामा सञ्चालन रहेको आयोजनाले ८५ प्रतिशत अनुदानमा गहुँको बीउ प्रदान गरेपछि स्थानीय किसानहरू गहुँ खेती  गर्नका लागि उत्साहित बनेका छन् । 

अनुदानमा दिएको गहुँको बिउँबाट ती पालिकाको थप ६ सय हेक्टर क्षेत्रफलमा गहुँको खेती गर्न पाउने आयोजनाका क्लष्टर इकाई प्रमुख सुकेश्वर झाले जानकारी दिनु भयो । नेपालमा नै उत्पादन भएको गौतम तथा बालगंगा जातको गहुँको बीउ उपलब्ध गराउने काम भएको उहाँले जानकारी दिनुभयो । 

आयोजनाले ती पालिकाहरूमा रहेको पोषणको समस्याको समाधान गर्नका लागि हरियो साग सब्जी, फलफूल, खाद्यान्न बाली, बाख्रा पालन, भैँसी पालन सहितका अन्य उत्पादन मूलक क्षेत्रमा सहयोग गर्नुका साथै उत्पादित वस्तुको बजारीकरणमा सहयोग गर्दै आएको छ । 

बीउ विजन कम्पनीसँग पर्याप्त मात्रामा गहुँको बीउ नभएको वेलामा आयोजनाले किसानलाई अनुदानमा गहुँको बीउ प्रदान गरेपछि किसानलाई ठूलो राहत मिलेको धनुषाका मुखियापट्टी गाउँपालिकाका अगुवा किसान सुरेश यादवले जानकारी दिनु भयो । अनुदानको गहुँको बीउले गहुँको क्षेत्र विस्तार हुने विश्वास गरिएको छ । 

यसका साथै ती पालिकामा बीउ वृद्धि कार्यक्रम अन्तर्गत ६ क्विन्टल उन्नत जातको बीउ प्रदान गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर  इकाई धनुषाले जनाएको छ ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button