झापामा जङ्गली हात्तीको आक्रमणबाट चार जना घाइते
भद्रपुर, झापा । जङ्गली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान करिब २ः१५ बजे चारकोशे जलथल जङ्गलबाट निस्किएका हात्तीले हल्दिबारी गाउँपालिका–४ स्थित कालीमन्दिर टोलको गाउँमा पसेर आक्रमण गर्दा हल्दिबारी गाउँपालिका–५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल घाइते भएका हुन् ।
दुई परिवारका उनीहरूको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । गाउँघरमा हात्ती निस्किएपछि खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएको स्थानीयको भनाइ छ ।
हात्तीले स्थानीय जयप्रकाश दाहालको अन्दाजी एक बिगाहाको धान पूर्ण रूपमा क्षति पुर्याउनुका साथै विजय लावतीको थ्रेसर लगाएको करिब ६ मन धान खाएर नष्ट गरिदिएको स्थानीय प्रह्लाद सिलवालले बताउनुभयो । हात्तीले धनबहादुर गहतराजको अटोमा समेत क्षति पुर्याएको छ ।
आहारको खोजीमा दिनहुँ आउने हात्तीको कारण जङ्गल आसपासका बासिन्दा त्रसित बनेका छन् ।






प्रतिक्रिया राख्नुहोस्