सरकार मानव अधिकारको पक्षमा सधैँ प्रतिबद्ध छ : कानुनमन्त्री

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार मानव अधिकारको पक्षमा सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ ।
७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुहुँदै उहाँले नेपालको संविधानले स्वतन्त्रता, समानता विधिको शासन, मूल्य मान्यताको जर्गेना र मानव अधिकारको संरक्षण सर्वद्वनलाई सधैँ प्राथमिकतामा राखेको स्मरण गराउनु भयो । उहाँले संविधानले ३१ प्रकारका मानव अधिकारलाईलाई मौलिक हकको रुपमा व्यवस्था गरेको बताउनुहुँदै सरकार ती मौलिक हकको कार्यान्वयन र प्रचलनमा ल्याउन संस्थागत, नीतिगत र कानुनी सुधारहरू गरिरहेको बताउनुभयो ।
उहाँले मानव अधिकारका लागि नेपालले विभिन्न महासन्धीमा हस्ताक्षर गरेको बताउनुहुँदै ती महासन्धीबाट सृजित दायित्वको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सन्देशमा उहाँले लोकतान्त्रिक शासन व्यवस्था, मानव अधिकार सुशासन र दिगो विकास एक आपसमा अन्तर सम्बन्धित रहेको बताउनुहुँदै मानव अधिकारको संरक्षण र प्रर्वदन केबल लोकतान्त्रिक शासन व्यवस्थामा मात्र सम्भव रहेको बताउनुभयो । सन्देशमा उहाँले सरकारले द्वन्द्वकालिन समयमा भएका मानव अधिकार उलङ्घनका घटनाको छानबिन गरी दोषीलाई सजाय र पीडितलाई न्याय र परिपुुरण गर्ने कुरामा समेत प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले कुनै पनि प्रकारको विभेदको अन्त्य गर्दै आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा समानता कायम गर्न सरकार प्रतिवद्घ रहेको बताउनुभयो । मन्त्री कार्कीले सरकारले गत वर्षदेखि प्रदान गर्दै आएको मानव अधिकार पुरस्कार यो वर्ष व्यक्तितर्फ प्रा. डा. कपिलमान श्रेष्ठ (काठमाडौँ) र संस्थातर्फ मानव सेवा आश्रमलाई प्रदान गरिने निर्णय भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
पुरस्कार पाउनुहुने श्रेष्ठ लामो समयदेखि मानव अधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रचनाहरूको प्रकाशन, प्रवर्द्धन पैरवी, संरक्षण र सम्मान सम्बन्धी कार्यमा निरन्तर पुर्याउनु हुने व्यक्तित्व हुनुहुन्छ । संस्थातर्फ पुरस्कार पाउने मानव सेवा आश्रम, (काठमाडौँ) लामो समयदेखि सडक पेटी तथा अन्य सार्वजनिक स्थलहरूमा परित्यक्त, असहाय, असमर्थ, बेवारिस रुपमा रही अत्यन्तै कष्टपूर्ण रुपमा जीवनयापन गरिरहेका व्यक्तिहरूको उद्धार, उपचार, परामर्श, लालन पालन, संरक्षण र त्यस्ता व्यक्तिको शवको सद्गत वा व्यवस्थापन लगायतका कार्यमा क्रियाशील संस्था हो ।







प्रतिक्रिया राख्नुहोस्