तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीको बचत लिएर विदेश हिँड्ने सञ्चालक, कर्मचारीलाई कानूनी दायरामा ल्याइने

दोलखा । सहकारीमा बचतकर्ताले राखेको बचत लिएर स्वदेश वा विदेश जहाँसुकै पुगेका सहकारी संस्थाका सञ्चालक एवं कर्मचारीलाई कानूनी कारबाहीको दायरामा ल्याइने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले आज दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरेको ‘सुशासनको प्रवर्द्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुई दिने कार्यशाला गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष काशीराज दाहालले बचतकर्ताको पैसा लिएर विदेश पुगेका सञ्चालक वा कर्मचारीलाई इन्टरपोलको सहयोगका माध्यमबाट झिकाएर समेत बचत फिर्ता गर्ने गरी काम थालिएको जानकारी दिनुभयो ।

स्वदेशमै लुकेर बसेका समस्याग्रस्त सहकारीका सञ्चालक एवं कर्मचारीलाई भने राहदानी जफत, विदेश भ्रमणमा रोक एवं कालोसूचीमा राखी नाम सार्वजनिक गराउने तयारीमा पनि समिति रहेको जानकारी उहाँले दिनुभयो । सहकारी ऐन, कानूनअनुसार नचल्दा करिब एक हजार सहकारी समस्याग्रस्त भएको अनौपचारिक जानकारी पाए पनि हालसम्म १२ वटालाई मात्र सरकारले समस्याग्रस्त घोषणा गरेको छ ।

सरकारले घोषणा गरेका १२ वटा सहकारीमध्ये सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सबै बचतकर्तालाई समितिले बचत फिर्ता दिएको जानकारी पनि अध्यक्ष दाहालले गराउनुभयो । बाँकी ११ सहकारीका बचतकर्तालाई पनि क्रमशः बचत फिर्ता गराउन यिनका सञ्चालक, कर्मचारी र ऋणीमाथि कानूनअनुसार हदैसम्मको कारबाही प्रक्रियामा समिति अघि बढ्न लागेको हो ।

करिब ८० प्रतिशत सहकारीका नियमन गर्ने दायित्व स्थानीय सरकारको भएकाले सातै प्रदेशका स्थानीय तहमा पुगेर सुशासनसम्बन्धी चेतनामूलक कार्यक्रम गर्न लागिएको समितिको कार्यालयका प्रमुख समेत रहनुभएका सदस्य-सचिव केशवप्रसाद पौडेलले बताउनुभयो ।

दोलखामा आजदेखि सुरु भएको दुई दिने कार्यक्रममा सिन्धुपाल्चोक, दोलखा र रामेछापका गरी १४ स्थानीय तहका सहकारी हेर्ने कर्मचारी, जिल्ला सहकारी सङ्घका पदाधिकारी गरी करिब ५० जनाको सहभागिता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button