गाउँमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

सोलुखुम्बु । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय सल्लेरीले गाउँमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुमा एक सय जना बृद्धबृद्धालाई गाउँमै सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो ।
बैङ्कले वडा कार्यालयको समन्वयमा एक दिने सामाजिक सुरक्षा भत्ता वितरण तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै सबै ग्राहकको ग्राहक पहिचान फारम भर्ने, नयाँ खाता खोल्ने तथा रकम बचत गर्ने काम गरेको बैङ्कका शाखा प्रबन्धक चित्रबहादुर खड्काले जानकारी दिनुभयो ।
त्यस अवसरमा वित्तीय सम्बन्धी साक्षरता समेत प्रदान गरिएको छ । भौगोलिक रुपमा सदरमुकाम आउन टाढा रहेकाले बृद्धहरुलाई सहज सेवा प्रदान गर्नका लागि गाउँमै सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
यस अघिसम्म दिनभरी लगाएर सकी नसकी सदरमुकाम सल्लेरी पुगेर भत्ताको रकम ल्याउने गरेकोमा गाउँमै भत्ता पाएपछि वृद्धहरू खुशी भएका छन् ।
भत्ता बुझ्नकै लागि एक दिनको दुरीमा सदरमुकामसम्म कष्टकर यात्रा गर्न नपरेको भन्दै ८६ वर्षीय वृद्ध लाक्पा शेर्पाले खुसी व्यक्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्