निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्यो : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ ।
निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको बताउनुभएको हो ।
“हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ । पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो”, आयोगले राखेका अपेक्षाको विश्लेषण गर्दै उहाँले भन्नुभयो, “यस कारण हामीले निर्वाचनमा यस पटक कुनै पनि पद पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गर्यौँ ।”
उहाँले विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनसाय बोकेका व्यक्तिले मिथ्या सूचना, दुष्प्रचार र द्ववेशपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने कार्यलाई नजिकबाट नियमन गर्न यस पटक सफल भइरहेको पनि बताउनुभयो ।
उहाँले अब भौतिक रुपमा वा सडकबाट मात्रै नभई सामाजिक सञ्जालमार्फत पनि निर्वाचन प्रभावित गर्न नपाइने मान्यता स्थापित भएको बताउनुभयो । निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाई दिन सक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको उहाँको भनाइ छ ।
उहाँले निर्वाचन अधिकृतहरूले उत्कृष्ट ढङ्गले काम गरेको भन्दै धन्यवाद दिँदै काम गर्दा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गर्नुभयो ।
उहाँले आयोग वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताउँदै भन्नुभयो, “हामी वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौँ । हामी अब छिट्टै कानून संशोधनको प्रक्रिया अघि बढाइनेछ ।” उहाँले नयाँ संसद्को नयाँ अधिवेशनमा कानून संशोधनले प्रवेश पाउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्