मङ्सिर २७ गते सम्ममा काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने : मन्त्री चौधरी

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले मङ्सिर २७ गते सम्ममा काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ ।
मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न आज मेलम्ची खानेपानीको मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले सकेसम्म यही २५ गते र कुनै समस्या मङ्सिर २७ गतेभित्र पानी वितरण सुरु गर्ने बताउनुभयो ।
गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबारदेखि सुरुङमा हाल्न थालिएको छ ।
पानी सुरुङमा हालेको करिब १० देखि १२ दिनपछि काठमाडौँ पानी पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।
मेलम्ची खानेपानीको हेडवक्स बाधस्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले दीर्घकालीन रूपमै पानी पथान्तरणको लागि कार्ययोजना बनाइएको जानकारी दिनुभयो । उहाँले विभिन्न अध्ययन र त्यहाँको रिपोर्ट अनुसार सरकारले काम सुरु गर्ने पनि बताउनुभयो ।
सुरुङको १ नम्बर गेटको अवलोकन गर्नुहुँदै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताउनुभयो । उहाँले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएको भन्दै खुसी समेत व्यक्त गर्नुभयो ।
निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकोले समयमै अर्थात् यही मङ्सिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले माथिको जलाधार कसरी संरक्षण गर्ने ? बाढी पहिरो कसरी नियन्त्रण गर्ने ? कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गर्ने बताउँदै त्यसका लागि पनि काम सुरु भइरहेको जानकारी दिनुभयो ।
अहिलेसम्म सुरुङ निमार्ण र अन्य संरचना निमार्ण गरेर ३४ अर्ब खर्च गरेको सरकारले अब करिब ३१ करोड खर्च गर्ने हो भने बाह्रै महिना पानी लैजान सक्ने सचिव गेलालले बताउनुभयो ।
निरीक्षणका क्रममा कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयवासीको समस्या समाधान गरेर पानी लैजाने कुरामा आयोजना सकारात्मक रहेको बताउनुभयो ।
उहाँले हेलम्बु गाउँपालिका लगायत स्थानीय तहले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको बताउनुभयो ।
निर्देशक श्रेष्ठले बाढीले क्षति पुर्याएका संरचना पुनर्निर्माण, यहाँका सडक स्तरोन्नति लगाएका विविध समस्या समाधानका लागि स्थानीय प्रभावित र सरोकारवालाहरूसँग निरन्तर छलफल र परामर्श भइरहेको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्