तपाईँ सुन्दै हुनुहुन्छः

हजयात्रीको सङ्ख्या बढाइदिनु पर्‍यो : हज समिति

रुपन्देही । नेपाल हज समितिले नेपालबाट साउदी अरबको मक्का मदिनामा जाने हज यात्रीको कोटा (सङ्ख्या) बढाइदिन सरकारसँग माग गरेको छ । 

समितिका अध्यक्ष शमशेर मियाले नेपाल सरकारले साउदी अरब सरकारसँग उच्चस्तरीय वार्ता गरेर हज यात्रामा जाने धर्मावलम्बीको माग अविलम्ब सम्बोधन गर्नुपर्ने बताउनुभयो । 

हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरूको तुलनामा जान पाउने कोटा ज्यादै थोरै भएकाले सङ्ख्या बढाउन माग गरिएको हो । 

अध्यक्ष मियाका अनुसार हरेक वर्ष २ हजार जनाभन्दा धेरैले हज यात्रा गर्न हज समितिमा नाम दर्ता गराएपनि बढीमा साढे ५ सय जना मात्र जान पाउँछन् । नेपाल सरकारले साउदी सरकारसँग उच्चस्तरीय वार्ता गरेर इस्लाम धर्मावलम्बीको माग सम्बोधनमा गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो । 

यो वर्ष ५६३ जना मात्र हज यात्रामा जान पाएका र यसको तेब्बर सङ्ख्या जान नपाउँदा हज समितिमाथि गुनासो आउने गरेको अध्यक्ष मियाले बताउनुभयो ।  

साउदी सरकारले नेपालबाट जाने हज यात्रीका लागि आवश्यक सबै सुविधा सहजरुपमा उपलब्ध गराएर नेपाल हज समितिलाई व्यवस्थापनमा सहज बनाएको  मियाले बताउनुभयो । साउदी सरकारले वार्षिक १० प्रतिशत आम्दानी हज यात्रीबाट गर्ने गरेको उहाँको भनाइ छ । 

हरेक वर्ष बकर इदका बेला विश्वभरका लाखौँ इस्लाम धर्मावलम्बी डेढ महिनाका लागि साउदी अरबको मक्का मदिना जाने गर्दछन् । मुस्लिम समुदायमा  हज यात्रीको निकै ठूलो सम्मान र विश्वास हुने गर्दछ ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button