दोलखा: निर्वाचन आयोगको निर्णय विनै मतगणना भए एमाले सहभागी नहुने
दोलखा । नेकपा एमाले दोलखाले मङ्सिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको क्रममा सत्ता गठबन्धनले जिल्लाको विभिन्न आठ वटा मतदान केन्द्रमा एकलौटी मत खसालेको प्रमाणसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिँदा समेत पुनः मतदानको निर्णय नभएको उल्लेख गर्दै निर्वाचन आयोगको निर्णय नआई मतगणना भए सहभागी नहुने जनाएको छ ।

एमाले दोलखाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आइतबार मतदानको क्रममा विभिन्न मतदान केन्द्रमा सत्ता गठबन्धनले हिंसात्मक गतिविधि गरेको र बुथ कब्जा भएको जानकारी गराउँदा समेत दोलखाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले मतदान अधिकृतले नभनी केही गर्न मिल्दैन भन्दै बेवास्ता गरेको आरोप लगाएको छ ।
एमाले दोलखाको उजुरीमा निर्वाचन आयोगको निर्णय नआई मतगणना गरिए आफूहरू सहभागी नहुने उपाध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले भने नेकपा एमालेको उजुरी आइतबार नै निर्वाचन आयोगमा पठाइएकोले निर्वाचन आयोगले दिने निर्णय अनुसार नै गरिने बताउनुभयो ।
यसैबीच सत्ता गठबन्धनका दलहरूले भने जिल्लाको एक सय ९५ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र सबै ठाउँबाट मतपेटिका आइसक्दा समेत मतगणना सुरु नभएको भन्दै नाराबाजी गरेका छन् । उनीहरूले तत्काल मतगणना गर्न आग्रह गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्