तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा मतगणना सुरु, विवरण सङ्कलनका लागि “सूचना डेस्क” को व्यवस्था

मकवानपुर।मकवानपुरमा आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । हेटौँडा–२ स्थित सिद्धार्थ माविमा प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक दुबैतर्फ एकसाथ मतगणना गरिने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

दुई प्रतिनिधिसभा, ४ प्रदेशसभा तथा समानुपातिक तर्फको मत एकै पटक गणना हुने उहाँले बताउनुभयो । मतगणनाकोलागि १० वटा स्थान तयार पारिएको छ । मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको छ । एक साता भित्रमा सबै नतिजा आइसक्ने उहाँले बताउनुभयो ।

आइतबार सम्पन्न प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लामा दुई वटा प्रतिनिधि सभा र चार प्रदेशसभा मध्ये क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थलमा १७२ वटा मतदान केन्द्र रहेका थियो । भने, क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थलमा १९२ वटा मतदान केन्द्र रहेको थियो ।

जिल्लामा १ लाख ७८ हजार २ सय ८२ मत खसेको छ । यो कुल मतदाता सङ्ख्याका आधारमा ५९ प्रतिशत हो । ९२ हजार ८ सय ७७ पुरुष तथा ८५ हजार ४ सय महिला र अन्य ५ ले मतदान गरेका छन् । आइतबार राती करिब २ बजेसम्ममा सबै मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलमा आइपुगिसकेको थियो ।

मतगणनाको नतिजाको विवरण सङ्कलनका लागि सूचना डेस्कको व्यवस्था गरिएको छ । मतपरिणामको जानकारी दिन आधिकारिक व्यक्ति तोकिएको र ‘वान डोर सिस्टम’बाट मात्र सूचना प्रवाह हुने बताइएको छ । मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार छन् भने क्षेत्र नम्बर २ मा १० जना उम्मेदवार छन् । यस्तै प्रदेश सभा १ को (क) मा १० जना, (ख) मा १५ जना उम्मेदवार छन् । यस्तै २ को (क) मा ८ जना र (ख) मा १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button