मकवानपुरमा कुल ५९ प्रतिशत मत खस्यो, मतगणना भोलिबाट
मकवानपुर । आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन मकवानपुरमा शान्तिपूर्ण तबरले सम्पन्न भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान प्रक्रियामा जिल्लाका कुल मतदातामध्ये ५९ प्रतिशतले मतदान गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार कुल ३ लाख ७ सय ३३ जना मतदाता मध्ये १ लाख ५३ हजार ५२८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना छन् । जसमध्ये आज सम्पन्न निर्वाचनमा ९२ हजार ८७७, पुरुष ८५ हजार ४ सय महिला अन्य ५ जना गरि कुल एक लाख ७८ हजार २८२ जनाले मतदान गरेको उहाँले बताउनुभयो ।
२०७४ को निर्वाचनमा मकवानपुरबाट ६५ प्रतिशत खसेको थियो । यस वर्षका निर्वाचनमा मतदाता सङ्ख्या बढे पनि जिल्लामा पाँच वर्षपछि मत दिनेहरू ६ प्रतिशतले घटेका छन् ।
जिल्लामा दुई वटा प्रतिनिधि सभा र चार प्रदेशसभा मध्ये क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थलमा १७२ वटा मतदान केन्द्र रहेका थियो । भने, क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थलमा १९२ वटा मतदान केन्द्र रहेको थियो । निर्वाचनमा मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसैबीच मकवानपुरको मतगणना भोलि सोमबारबाट मात्र सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । राती अबेरसम्म जिल्लाका मतपेटिकाहरू सङ्कलन हुने र सोमबार सर्वदलीय बैठक बसी मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो ।
हेटौँडा–२, स्थित सिद्धार्थ माविमा तारजाली र सिसी क्यामेरा जडान गरेर मतगणनाका लागि तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्