धनुषामा भोलि रातिदेखि नै मतगणना हुने
जनकपुरधाम । भोलि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएसँगै मतगणनाको तयारी पनि पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनुषाले जनाएको छ ।

मतदान सकिएर मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतसहित अन्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि सर्वदलीय बैठक गरेर राति १० बजेपछि मतगणना शुरु गर्ने तयारी गरिएको छ ।

मतगणना हुने स्थानमा सुरक्षा घेरा लगाइएको छ भने सिसिटिभी क्यामेरा जडान गरिएको छ । यसका साथै मत गणनाको लट लटको परिणाम सार्वजनिक गर्नका लागि माइक तथा स्पिकर पनि राखिएको छ ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मतदानको समय ५ बजेसम्म रहेकाले मतदान सम्पन्न भएपछि मतपेटिका आएसँगै मतगणना सुरु हुने जानकारी दिनुभयो ।

धनुषामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जना मतदाताहरू रहनुभएको छ ।
धनुषाको क्षेत्र नंं ३ को जनकपुरधाममा, क्षेत्र नंं १ को सवैलामा, क्षेत्र नंं २ को औरही तथा क्षेत्र नंं ४ को महेन्द्रनगरमा मतगणना हुने भएको छ ।






प्रतिक्रिया राख्नुहोस्