तपाईँ सुन्दै हुनुहुन्छः

मतदानका लागि भारतबाट घर फर्किँदै नेपालीहरू

कञ्चनपुर । कामको सिलसिलामा भारतको विभिन्न ठाउँ गएका नेपाली घर फर्किरहेका छन् ।

पश्चिम सीमा नाका गड्डाचौकी भएर भारतबाट नेपाली नागरिक स्वदेश भित्रिरहेका हुन् । आउँदो आइतबार हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा सदस्यको चुनावमा मतदानका लागि भारतमा काम गर्न गएका नेपाली घर फर्किरहेका छन् ।

“चुनावका लागि बिदा मिलाएर भोट हाल्न आएको हुँ, आफ्नो मताधिकारको प्रयोग गर्नुपर्‍यो”, अछामका हर्कबहादुर बोहराले भन्नुभयो, “हाम्रा दुःख कोही देख्दैनन्, भोट हाल्ने मात्रै छ ।”

स्वदेशमै रोजगारी सृजना नहुँदा कामको खोजीमा भारत पस्नु परेको बाजुराका मङ्गल साउदले बताउनुभयो । “स्वदेशमै मजदुरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउ नै पाइँदैन”, उहाँले भन्नुभयो, “त्यसैले घरखर्च चलाउन भारत जानुपर्ने बाध्यता छ ।” गाउँबाट मतदान गर्न आउन भनेपछि चुनावका लागि घर फर्किएको बैतडीका हरिश भट्ट बताउनुहुन्छ । “गाउँबाट फोन गरेर मतदानका लागि आउन भनेपछि काम छोडेर आएँ”, उहाँले भन्नुभयो, “अब स्वदेशमै रोजगारी सृजना गरेर बिदेसिनुपर्ने बाध्यता हटाउनुपर्छ ।”

संविधान निर्माणपश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको बैतडीकै सन्तोष पन्तको भनाइ छ । “संविधान बनेपछि स्वदेशमै रोजगारी पाउने र देश विकास हुने अपेक्षा थियो”, उहाँले भन्नुभयो, “तर जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामका लागि विदेश जानुपर्ने बाध्यता छ ।” सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा क्रमिक रूपमा विकास भइरहेको भए पनि युवाहरूले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ ।

चुनावमा मतदान गरेर फेरि कामका लागि भारततर्फ जानुपर्ने बझाङका दुर्गा बोहरा बताउनुहुन्छ । “नेताहरूले चुनावको बेला हामीलाई सम्झन्छन्, गाउँबाट फोन गरेर भोट हाल्न आऊ कि आऊ भनेपछि आएको हो,” उहाँले भन्नुभयो, “मतदानपछि हाम्रो मतलब नै गर्दैनन् ।”

चुनावको सुरक्षालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमा नाकामा आवागमनमा रोक लगाएको छ । मतदान गर्न आउने पैदल यात्रुलाई सीमा प्रवेश गराइरहेको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो । “सीमा नाका पूर्ण रूपमा सिल छन्, तर मतदान गर्न आउने मानिसलाई चेकजाँच गरेर भित्रिन दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “यसमा प्रशासनले सहजीकरण गरिरहेको छ ।” गड्डाचौकी नाका भएर दैनिक तीन/चार सयको हाराहारीमा नेपाली नागरिक भित्रिरहेका छन् । कामको खोजीमा सुदूरपश्चिम, कर्णाली लगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button