चौँरीको घिउ र बाच्छा बिक्रीको प्रतिबद्धता खोज्दै लप्चीवासी

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लप्ची चीनको तिब्बतसँग सीमा जोडिएको गाउँ हो । देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजना रहेको लामाबगरबाट दुई दिनको पैदल यात्रामा लप्ची पुगिन्छ ।
कुनै पनि निर्वाचनमा मत माग्न उम्मेदवार नपुग्ने यो गाउँका बासिन्दा तिब्बतको फलाकमा चौँरीको घिउ र बाच्छा बिक्री गर्ने प्रबन्ध मिलाउन उम्मेदवारहरूको प्रतिबद्धता खोजिरहेका छन् ।
कोरोना महामारी पछि तिब्बतको फलाक नाका बन्द भएर तीन वर्षदेखि व्यवसाय चौपट बनेको बताउने स्थानीय ६० वर्षीय फुजुङ शेर्पा फलाकमा चौँरीको घिउ र बाच्छा बिक्रीको लागि सहयोग गर्ने उम्मेदवारलाई मत दिने बताउनु हुन्छ ।
लप्चीसम्म उम्मेदवार नै आउँदैनन् अनि हामी सीमाका बासिन्दाको पीडा जनप्रतिनिधिहरूले कसरी बुझुन् – फुजुङले भन्नु भयो ।
स्थानीय ८३ वर्षीय लमु दावा शेर्पालाई पनि निर्वाचनको बेला मत माग्न गाँउमा उम्मेदवार आएको अहिलेसम्म याद छैन । यातायातको समस्याले हामी बिरामी पर्दा उपचार गर्न सहज ढङ्गले स्वास्थ्य चौकीसम्म पनि जान सक्दैनौ, न टेलिफोनकै सुविधा छ लमु दावा शेर्पाले भन्नु भयो– हाम्रो समस्या बुझ्न एक पटक पनि गाउँ नआउने उम्मेदवारलाई कसरी मत दिनु ।
कोही बिरामी पर्दा टेलिफोन गर्नकै लागि मात्र पनि भीरको बाटो छिचोलेर एक दिन हिँडेर जानुपर्ने बाध्यता रहेको लमु दावा बताउनुहुन्छ । कोही बिरामी पर्दा आर्थिक अवस्था राम्रो हुनेले त हेलिकप्टर मगाएर लान्छन्, आर्थिक समस्या हुने त गाउँमै थलिनुको विकल्प छैन – लमु दावाले भन्नु भयो ।
निर्वाचनको बेला गाँउमा आएर स्थानीय समस्या सुन्ने र समाधानको लागि पहल गर्ने दल र उम्मेदवारको प्रतीक्षामा लप्चीवासी रहेको अर्का स्थानीय नातार शेर्पा बताउनु हुन्छ । निर्वाचनको बेला मत माग्न गाँउमा नआएपनि तिब्बतको फलाकसम्म चौँरीको घिउ र बाँच्छी बिक्रीमा सहयोग गर्ने र सडक तथा टेलिफोनको पहुँच विस्तार गर्न सरकारसँग वार्ता गर्न सक्ने उम्मेदवारको खोजी लप्चीवासीले गरिरहेको नातार बताउँछन् ।
विगु गाउँपालिका वडा नम्बर १ लप्चीमा ४६ घरधुरी रहेको छ । एक सय ५० जनसङ्ख्या रहेको लप्चीमा ६१ जना मतदाता रहेका छन् ।
नेपाली नागरिक भएर पनि देश विहीन बन्नु परेको बताउने स्थानीय डोमा शेर्पा गाँउमा विद्यालय समेत नभएकोले बालबालिकाहरूलाई अध्ययनकै लागि काठमाडौँ लानुपर्ने बाध्यता रहेको बताउनु हुन्छ ।
लप्चीवासीलाई चौँरीको घिउ र बाच्छा बेच्ने आफ्नै वडाको लामाबगरसम्म ल्याउन पनि कठिन छ । नजिकको बजार चिन तिब्बतको फलाक नाका तीन बर्ष देखि बन्द भएपछि आर्थिक समस्याको कारण खान समेत समस्या भएको स्थानीयको गुनासो छ ।
सरकारले पठाएको खाद्यान्न सकियो, व्यवसाय बन्द भएपनि आर्थिक समस्या त्यतिकै छ, यस्तो बेलामा मतदान गर्न समेत मेसो पाउँदैनौ – स्थानीय डोमा शेर्पा भन्नु हुन्छ । कमसेकम चुनावको बेला दलका नेता र उम्मेदवारहरू गाँउमा आएर यहाँको समस्या समाधानमा पहल गरिदिए हुने नि ! – स्थानीय आङदावा शेर्पाले भन्नु भयो ।







प्रतिक्रिया राख्नुहोस्