निर्वाचन सामग्री लिएर पर्साका विभिन्न मतदान केन्द्रमा कर्मचारी प्रस्थान

बीरगंज । पर्सामा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारी आजबाट मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन् ।
कर्मचारीहरू मतपत्रसहित निर्वाचन सामग्री बुझेर मतदान स्थलतर्फ गएका हुन् ।
क्षेत्र नम्बर १ र २ को बीरगंज स्थित निर्वाचन कार्यालय र ३ र ४ को लागि पोखरीयास्थित निर्वाचन कार्यालयबाट मतदान अधिकृत सहितका कर्मचारीहरूले मतपत्र, मतपेटिका, सिल, मतदाता नामावली, स्वस्तिक छाप, विभिन्न प्रकारका अनुसूची फारमहरूसहितका ९१ प्रकारका निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ प्रस्थान गर्ने क्रम शुरु भएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिनुभयो ।
आफ्नो जिम्मामा रहेको निर्वाचन सामग्री बुझेर उनीहरू आफू खटिएको पालिकाकाको मतदान स्थलतर्फ लागेका छन् ।
पर्सा जिल्लाको ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, धोविनी, लगायतका ग्रामीण इलाकामा रहेका मतदान केन्द्रमा आजदेखि नै कर्मचारी प्रस्थान गरेको जिल्ला निर्वाचन प्रमुख पोखरेलले बताउनुभयो ।
त्यसैगरी, मतदान प्रक्रियालाई सुरक्षित र भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले कार्तिक २७ गतेबाट निर्वाचन सम्पन्न नभइन्जेल सम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्देशन जारी गरेको छ ।
कार्यालयले जारी गरेको सूचनामा ४ मङ्सिरमा हुने निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन सम्पन्न नभइन्जेल सम्मका लागि मदिराजन्य पदार्थ ओसार प्रसार, बिक्री वितरण तथा सेवन पूर्णरूपमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
यसैगरी, कार्यालयले निर्वाचनको दिन मङ्सिर ४ गते बिहान ५ बजेदेखि मङ्सिर ५ गते बिहान ५ बजेसम्म तोकिएको अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको जनाएको छ ।
पर्सा जिल्लामा १ सय ५९ वटा मतदानस्थलमा ४ सय १७ मतदान केन्द्र रहेका छन् । ३ लाख ४५ हजार मतदाता रहेको पर्सामा ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।
निर्वाचन शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्न कर्मचारी, सुरक्षाकर्मीसहित ११ हजार जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्