झापामा एउटा हात्ती मृत फेला

भद्रपुर, झापा । झापामा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।
बुधवार बिहान झापाको कचनकवल–१ घेरावारीमा दाह्रा नभएको एउटा जङ्गली हात्ती मृत फेला परेको जिल्ला वन कार्यालय झापाले जनाएको छ । हात्तीको पेट सुन्निएको पाइएको कार्यालय प्रमुख जीवन पाठकले बताउनु भयो ।
जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण गंगा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको र हात्तीको दाह्रा नरहेको कचनकवल १ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिनु भयो ।
हात्तीले सिमल तरुल खाएको देखिएकाले फुडपोइजन भएर सो हात्ती मरेको हुनसक्ने स्थानीयले शङ्का गरेका छन् । पोस्टमार्टम गरी सो हात्तीलाई मरेको स्थानमै खाल्डो खनेर अन्त्येष्टि गरिएको छ । पोस्टमार्टम रिपोर्ट आउन केही दिन लाग्ने डिभिजन प्रमुख पाठकले बताउनु भयो ।
योसँगै झापामा पछिल्लो तीनवटा हात्ती मृत अवस्थामा फेला परिसकेका छन् । गत असार १७ गते बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो भने त्यसको पाँच दिनपछि नै असार २२ गते अर्जुनधारा–४ दहीझोडामा अर्को हात्ती मृत फेला परेको थियो ।







प्रतिक्रिया राख्नुहोस्