तपाईँ सुन्दै हुनुहुन्छः

चुनावी मुद्दा बन्दै वायुउर्जा

पर्वत । पर्वतको विकट महाशिला गाउँपालिका–६ फलामखानीमा रहेको वायुउर्जा विगत १६ वर्षदेखि अलपत्र छ । स्थानीय बासिन्दाले हरेक निर्वाचनमा वायु ऊर्जाको पुन सञ्चालनको माग गर्दै आएका छन् । 

निःशुल्क विद्युत् सेवा उपलब्ध हुने भएकाले यसको सञ्चालनमा पहल गर्न भोट माग्दै आएका उम्मेदवार सँग स्थानीयले माग गर्ने गरेका छन् । करोडौँ रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मत सम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशक अघि स्थापना भई सञ्चालनमा आएको उक्त बायु ऊर्जा समय समयमा मर्मत सम्भारको अभावमा गुज्रिएको छ ।  

लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । २०६० सालमा स्थापना भएको केन्द्र २०६३ सालमा तीन वर्ष पछि नै बन्द भएको थियो । 

टिटिविजी नामक संस्थाले रु.एक करोड भन्दा बढीको लगानीका बायुउर्जा आयोजना निर्माण गरेको थियो ।  तर संरक्षण र मर्मत हुन नसक्दा शुरु भएको एक वर्षमै बन्द भए पछि वायु ऊर्जा आयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिए । त्यसमा भएको लगानी पनि डुबेको उनको भनाई छ । 

फलामखानीका वडा अध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त बायु ऊर्जा स्थापना गरिएको थियो । बायु ऊर्जा सञ्चालनमा आएपछि फलामखानी, भँगरा, लगायतका सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । तर अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको विश्वकर्माले बताए ।  

त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडी बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापन समेत गर्न सकिने उक्त डाँडोमा आयोजनाको काम पुनः परिक्षण गरि अगाडि बढाउन सकिने उनले बताए । उक्त योजनाबाट पुन विद्युत् उत्पादन गरि गाउँका सबै घरधुरीमा बिस्तार गर्नका लागि जिल्ला समन्वय समिति, नेपाल सरकार ऊर्जा मन्त्रालय लगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले बताए । 

संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमले तयार पारेको एक रिपोर्ट अनुसार नेपालमा ३ हजार मेगावाट बिद्युत् हावा बाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजना बाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो । वायु ऊर्जा आयोजना पुर्ननिर्माण गर्न सकेमा फलमखानी करिब ३ सय घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाई छ । 

महाशिला गाउँपालिकाले उक्त बायुउर्जा आयोजनाको बारेमा विस्तृत अध्ययन गरी पुनः सञ्चालनका लागि कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताए । चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने भुसालले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button