तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन सामग्री बुझेर बाजुराका १ सय १२ मतदान केन्द्रमा पुगे कर्मचारी

बाजुरा । बाजुराका ७० वटा मतदान केन्द्रमा ९ सय ९३ जना कर्मचारी निर्वाचन सामग्री लिएर खटिएका छन् । 

मङ्गलवार बाजुराको सदरमुकामबाट टाढा रहेका हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिकामा कर्मचारीहरू खटिए पनि अन्य पालिकाका मतदान केन्द्रहरूमा बुधवार आज समेत कर्मचारीहरू पुगेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।

मतपेटिका, स्वस्तिक छापलगायत सामग्रीसहित मतदाता अधिकृतको नेतृत्वमा कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका हुन् ।

बाजुरा जिल्लामा ७० मतदान स्थलका ११२ मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी सम्पुर्ण सामग्री उपलब्ध गराएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 

जिल्लाभर कुल ९ सय ९३ जना जनशक्ति परिचालन गरिएको छ । मतदानस्थलको सुरक्षा तथा मतदातालाई सुरक्षित, भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताउनुभयो ।

निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button