कैलालीमा निर्वाचनका लागि एक हजार ८१२ प्रहरी र दुई हजार ८१२ म्यादी प्रहरी परिचालन
टीकापुर कैलाली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कैलालीमा एक हजार ८१२ जना प्रहरी खटिएका छन् भने २ हजार ८१२ जना म्यादी पनि खटिएका छन् ।
यो बाहेक सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि निर्वाचनका शान्ति सुरक्षाका लागि खटिएको छ ।
तीन वटै सुरक्षा निकायको समन्वयमा कैलालीको चुनावको शान्ति सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
कैलालीका पाँच वटै निर्वाचन क्षेत्र र त्यहाँ भित्रका पालिकाहरूमा पनि यति बेलाको सुरक्षाको चुनौतीलाई ध्यान दिएर प्रहरी परिचालन गरिएको प्रवक्ता जोशीले बताउनुभयो ।
कैलालीमा सामान्य, संवेदनशील र अतिसंवेदनशिल गरी ३ प्रकारका मतदान स्थलहरू रहेका छन् । सोही आधारमा सुरक्षा व्यवस्था मिलाइएको समेत उहाँले बताउनुभयो ।
नेपाल प्रहरी र म्यादी प्रहरी ५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेका र निर्वाचन अधिकृतको कार्यालयबाट मतदान स्थलतर्फ जाने क्रम शुरु भएको छ ।
चुनावको समयमा चुनाव विरोधीहरूले गर्न सक्ने गतिविधि तथा राजनीतिक दलका कार्यकर्ताबाट हुन सक्ने गतिविधिलाई समेत लक्षित दलका कार्यालय तथा सम्पर्क कार्यालयहरूमा पनि प्रहरीले निगरानी गरिरहेको प्रवक्ता जोशीले बताउनुभयो ।
चुनावको समयमा सबै नागरिकहरू चुनावमा होमिएको मौका छोपी हाम्रो गाउँ समाजमा चोरी डकैती पनि हुन सक्ने सम्भावना रहेकाले प्रहरी प्रशासन त्यसतर्फ पनि सचेत रहेको र त्यसमा नागरिकहरूलाई पनि सचेत रहन आग्रह गरिएको छ ।
५ लाख, ३५ हजार ५१४ जना मतदाता रहेको कैलाली जिल्लामा २३७ वटा मतदान स्थल र ६२९ वटा मतदान केन्द्र रहेका छन् भने ८ वटा अस्थायी मतदान स्थल पनि छन् ।







प्रतिक्रिया राख्नुहोस्