निर्वाचनका दिन काठमाडौँ उपत्यकामा सवारी आवागमन बन्द हुने
७२ घण्टाअघि मदिरा ओसारपसार तथा विक्री वितरणमा रोक

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मङ्सिर ४ गते काठमाडाैँ उपत्यकामा सवारी आवागमन बन्द गरिने भएको छ ।
काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको निर्वाचन सुरक्षाबारे संयुक्त बैठकले अत्यावश्यक बाहेकका सवारी साधन बन्द गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगको निर्णय अनुसार मङ्सिर ४ गते बिहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा आन्तरिक सवारी आवागमन बन्द गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।
निर्वाचन आयोगबाट निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारी साधन भने सञ्चालन हुनेछन् ।
यसैगरी, प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निर्वाचन हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्री वितरणमा रोक लगाउने निर्णय गरेको पनि प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
निर्वाचनका बेला तिनै जिल्लामा खानेपानी, विद्युत्, विपद्सम्बन्धी एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवा सञ्चालनमै राख्न फोकल पर्सन तोकेर काम गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।
निर्वाचनका कारण १ र २ गते जिल्ला प्रशासन कार्यालयहरूले शान्ति सुरक्षा, विपद्, निर्वाचन र मुद्दा बाहेकका सेवा प्रवाह स्थगित गर्ने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्