तपाईँ सुन्दै हुनुहुन्छः

वर्तमान शासकीय स्वरूपबाटै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ : अध्यक्ष ओली 

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली वर्तमान शासकीय स्वरूपबाटै मुलुकमा राजनीतिक स्थायित्व एवम्  समृद्धि कायम गर्न सकिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै अध्यक्ष ओलीले शासकीय स्वरूपले दिएको प्रणालीलाई सही रूपले व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले अहिलेको शासकीय स्वरूपका प्रणालीमा कुनै व्यवधान नभएको भन्नुहुँदै यसलाई सही रुपमा कार्यान्वयन गर्न दलहरू गम्भीर हुनु आवश्यक रहेको बताउनुभयो ।  

शासकीय स्वरूपका प्रणालीलाई सही रुपमा कार्यान्वयन गर्ने र  व्यवहारमा उतार्ने विषयमा केही कमीकमजोरी रहेको भन्नुहुँदै अध्यक्ष ओलीले व्यक्तिमा रहेको आचरण र व्यवहारलाई परिवर्तन नगरेसम्म जुनसुकै शासकीय स्वरूप पनि  सफल हुन नसक्ने बताउनुभयो । 

उहाँले शासकीय स्वरूप परिवर्तन गर्ने विषयमा अहिले नै हतार गर्ने बेला नभएको बताउनुहुँदै यस्ता विषयलाई, सल्लाह र समझदारीमा समाधान गर्न सकिने बताउनुभयो । 

मङ्सिर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टीको बहुमत आउने बताउनुहुँदै उहाँले मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो पार्टी सरकारमा हुँदा उल्लेखनीय काम गरेकाले एमालेप्रति जनताको विश्वास बढेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button