तपाईँ सुन्दै हुनुहुन्छः

रामेछापमा  २ हजार ५ सय सुरक्षा फौज परिचालन हुने  

रामेछाप । आसन्न प्रतिनिधि र प्रदेश सभा  निर्वाचनलाई शान्तिपूर्ण र मतदातामैत्री बनाउनका लागि रामेछाप जिल्लामा करिब २ हजार ५ सय सुरक्षाकर्मी खटिने भएका छन् । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्लाभरि रहेका ९६ मतदान स्थल र २ सय २६ वट मतदान केन्द्रको सुरक्षाका लागि उक्त सङ्ख्यामा सुरक्षा फौज खटिन लागेको हो ।

रामेछापका केही मतदान स्थलहरूमा सुरक्षा व्यवस्थामा कमी आउन सक्ने भन्दै जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको सुरक्षाका लागि यति ठुलो सङ्ख्यामा सुरक्षा फौज परिचालन गर्ने व्यवस्था मिलाएको रामेछापका प्रहरी प्रमुख राजकुमार थिङले जानकारी दिनुभयो । यसका लागि जिल्ला सुरक्षा समितिले कतिपय  मतदान स्थलको निरीक्षण तथा अनुगमन गरि त्यहाँको स्थलगत अवस्थाका बारेमा पनि जानकारी लिइरहेको पनि प्रमुख थिङले बताउनुभयो ।  

जसमा ७ सय प्रहरी, १ हजार १ सय जना म्यादी प्रहरी र बाँकी सङ्ख्यामा सशस्त्र प्रहरी र  नेपाली सेना परिचालन गर्नै गरि आवश्यक मापदण्ड सहित उनीहरुलाई सम्बन्धित मतदान केन्द्रको सुरक्षाका लागि खटाइसकेको छ । 

यसै बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले रामेछापको सुरक्षा अवस्थाको बारेमा छलफल गरि हेटौडा फर्कनु भएको छ । उहाँले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सँग भेटेर मतदान स्थलको सुरक्षा जिल्लाको सुरक्षा तयारी र अवस्थाका बारेमा पनि जानकारी लिनु भएको थियो । उहाँले निर्वाचनलाई सफल पार्नका लागि  कुनै पनि कसुर बाँकी नराख्न र अनुशासित र मर्यादित भएर काम गर्न रामेछाप प्रहरी र मातहतका निकायलाई निर्देशन दिनु भयो  । 

सो अवसरमा उहाँले निर्वाचनलाई ध्यानमा राखेर तीन तहको सुरक्षा योजना र कार्यान्वयनका बारेमा पनि स्पष्ट पार्नु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button