धनुषामा नेपाल–भारत सीमा मंसिर १ बाट बन्द हुने
जनकपुरधाम । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि धनुषामा मंसिर १ गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लाको जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हाे ।
खुला सीमानाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भन्दै मंसिर १ गते राति १२ बजेदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयाे । मतदान सम्पन्न भएपछि मात्रै नाका खुल्ने उहाँले बताउनुभयाे ।
बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण र व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएकाे थियाे ।
बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेल र भारतीय पक्षको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्दकुमार बर्माले गर्नुभएको थियो ।
सुरक्षा बैठकमा धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी हुनुभएकाे थियाे ।








प्रतिक्रिया राख्नुहोस्