तपाईँ सुन्दै हुनुहुन्छः

मध्य तराईमा चुनाव प्रचार शैली बदलिँदै

वीरगंज  । मध्य तराईको प्रमुख केन्द्र वीरगंज, बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा उम्मेदवार तथा राजनीतिक दलहरूले सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट भोट माग्ने क्रम बढेसँगै चुनावी प्रचार शैली बदलिएको छ । 

विगतमा भएका निर्वाचनमा वीरगंजको घण्टाघर, माईस्थान, आदर्शनगर लगायतका प्रमुख केन्द्रहरू उम्मेदवारका पर्चा, पोस्टर, तुल र ब्यानरले रङ्गीचङ्गी देखिन्थ्यो । 

जति चुनाव नजिक हुन्थ्यो, उम्मेदवार त्यति धेरै भड्किलो प्रचार शैली अपनाउन होडबाजी गर्थे । प्रचारमा प्रयोग गरिने भारतीय गाडीको लाम लाग्थ्यो । वीरगंजका होटलहरुमा जताततै भोजभतेरको भिडभाड देखिन्थ्यो । मदिरा बिक्री हुने होटल भरिभराउ हुन्थे । डिजे बाजामा रेकर्ड गरिएका भोजपुरी गीतको चर्को आवाजले सर्वसाधारण आजित हुन्थे । तर, अहिलेको निर्वाचनमा भने यस्तो गतिविधि घट्दै गएको छ । पहिलेजस्तो नगर तथा गाउँका चोकचौतारा र हाट बजारहरू उम्मेदवारका प्रचार सामग्रीले भरिभराउ छैनन् । 

त्यसैले सुरक्षाकर्मीलाई पनि त्यस्ता सामग्री हटाउनुपर्ने चटारो छैन । बीरगंज, पोखरीया, बिन्दबासीनी, कलैया, निजगढ, सिमरा, परवानीपुर लगायतका क्षेत्रहरूमा पहिलाको भन्दा अहिले निर्वाचन सामग्रीको तडकभडक देखिएको छैन । उम्मेदवारहरू त्यस्तो रंगीविरंगी प्रचार शैलीभन्दा सामाजिक सञ्जालतर्फ आकर्षित भएका छन् ।

निर्वाचन आचारसंहिता अनुगमनका पदाधिकारीहरू, बुद्धिजीवी र नागरिक समाज यसलाई सुधारको रूपमा लिएका छन् । मतदाता र उम्मेदवारहरू चेतनशील बन्दै गएको हुँदा प्रचार शैलीमा परिवर्तन आएको र सामाजिक सञ्जाल मार्फत उम्मेदवार र राजनीतिक दलहरू भोट माग्न केन्द्रित भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता भिमकान्त पौडेलले बताउनुभयो । 

विगतको तुलनामा ‘निर्वाचन आचारसंहितामा कडाइ, मतदाता र उम्मेदवारमा सचेतता विकास हुँदै गएको र  निर्वाचनमा प्रचार प्रसारको शैली प्रविधि केन्द्रित हुन थालेको पौडेलले बताउनुभयो । 

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत प्रभावकारी र सहजरुपमा प्रचार प्रसार गर्न थालेसँगै उम्मेदवारको खर्च समेत घटेको छ । 

सहरको तुलनामा ग्रामीण क्षेत्रमा भने अझै पुरानै प्रचार शैली डिजे बाजाको साथमा लौण्डा नाच समेत मतदाताले मनोरञ्जनका लागि खोज्ने गरेको कतिपय उम्मेदवारहरूले गुनासो गरेका छन् । 

मोबाइलमा आचारसंहिता उल्लङ्घन विरुद्धको चेतना मूलक सीआरबिटी टोन, स्थानीय प्रशासनसहित आचारसंहिता अनुगमन समितिको सक्रियताले पनि प्रचार शैली बदलिएको हुन सक्ने पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button