तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने

काठमाडौँ । नेपालले पहिलो पटक आइसिसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । 

अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । 

त्यसैगरी आइसिसीले आज सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यु–१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलङ्काले गर्ने भएको छ । 

त्यसैगरी सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त रुपमा आयोजना गर्नेछन् । सन् २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् । 

नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आइसिसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलकोस्तर माथि पुर्‍याउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो । 

उहाँले पहिलो पटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताउनुभयो ।

अध्यक्ष चन्दले प्रतियोगिता सञ्चालनको लागि करिब चार वर्षको लामो समय भएकाले अब पूर्वाधार विकासको लागि सरकारसँग कुरा गर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button