मधेस सरकारले जनताको पक्षमा काम गरेको छ : मुख्यमन्त्री राउत

वीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जनताले कसैको दबाब र प्रभावमा नपरी सही नेतृत्व चयन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
बिरगंज महानगरपालिका वडा नम्बर ८ पानीट्याँकीमा आयोजित घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले मधेस सरकारले विभिन्न बाधा र अवरोधका बाबजुद पनि मधेसका जनताको पक्षमा काम गरेको बताउनुभयो ।
उहाँले मधेसमा विद्यमान दाइजो प्रथाको अन्त्य गर्न छोरीलाई शिक्षा दिनुपर्ने कुरालाई जोड दिँदै बेटी पढाऊ बेटी बचाउ, छोरी बिमा कार्यक्रम लगायतका प्रभावकारी कार्यक्रमले गरिब र विपन्न वर्गका छोरीहरूलाई विद्यालय पुग्न सहज वातावरणको सृजर्ना गरेको बताउनुभयो ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्व बन तथा वातावरण मन्त्री प्रदीप यादवले विकास र समृद्धिको सबैभन्दा महत्त्वपूर्ण कडी शिक्षा भएकोले यस क्षेत्रको सुधार आफ्नो प्रमुख एजेण्डा भएको बताउनुभयो ।
वर्तमान शैक्षिक प्रणालीमा सुधार गर्न आजको आवश्यकता भएको बताउँदै यादवले शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक प्रणालीको सुदृढीकरण, प्राविधिक शिक्षामा जोड, वीरगञ्जमा प्राविधिक शैक्षिक संस्थाको स्थापना र कृषि तथा इन्जिनियरिङ कलेजको स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले जनताले आफूलाई निर्वाचित भए वीरगन्जलाई शिक्षाको हवका रुपमा विकास गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी भित्र्याउने वातावरण सृजना गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्