तपाईँ सुन्दै हुनुहुन्छः

ट्रेल रेसको उपाधि रबिनलाई

सोलुखुम्बु । सोलुखुम्बुमा आयोजना गरिएको १५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’को उपाधि सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुका रबिन बस्नेतले जित्नुभएको छ । ३१० किलोमिटरको ‘सोलुखुम्बु ट्रेल रेस’को दुरी पार गर्दै बस्नेत विजेता बन्नुभएको हो ।

त्यस्तै, मुना राई द्वितीय र ल्हमु शेर्पा तृतीय हुनुभएको छ । खेल पर्यटनका लागि सोलुखुम्बु छनौट हुन आफैँमा गर्वको कुरा भएको भन्दै विजेता बस्नेतले प्रतियोगिताले सोलुखुम्बुको पर्यटनलाई विश्वमा चिनाउन सहयोग पुग्ने बताउनुभयो ।

सोलुदूधकुण्ड नगरपालिका–८ धापबाट सुरु भएको ट्रेलमा ३९ जना विदेशी र चार जना नेपाली धावक सहभागी थिए । ओलम्पिक विजेता दाछिरि शेर्पाको नेतृत्वमा सुरु ट्रेल पिके–दूधकुण्ड–नाम्चे–सगरमाथा आधार शिविर हुँदै फर्केर फाप्लुमा आएर समापन भएको हो ।

द स्मल वर्ल्डको आयोजना तथा दाछिरि शेर्पा फाउण्डेशन र नेपाल पर्वतारोहण सङ्घको सहयोगमा आयोजना गरिएको ‘सोलुखुम्बु ट्रेल रेस’ले खेल पर्यटनको सम्भावनालाई दर्शाएको आयोजक टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाको भनाइ छ । कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रिय स्तरको दौड आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button