तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा कैदीबन्दीसहित ३ लाख ४५ हजार बढीले मतदान गर्ने 

वीरगंज । वीरगंज कारागारमा रहेका कैदीबन्दीहरुले समेत मतदान गर्न पाउने अधिकारलाई संरक्षण गर्दै निर्वाचन आयोगले पर्सामा वीरगंज कारागार भित्र अस्थायी मतदान केन्द्र स्थापना गर्ने भएको छ । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तर्फको समानुपातिकमा मतदान गर्नका लागि वीरगंज कारागारमा रहेका कैदीबन्दी र निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका लागि दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले जानकारी दिनुभयो । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा क्षेत्रीय कारागार वीरगंजमा रहेका १ हजार ४ सय ९७ जना कैदीबन्दी मध्ये ३७ जनाले समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान गर्न पाउने भएका छन् । 

कारागारबाट उनीहरूले अस्थायी मतदाता नामावली आफ्नो नाम समावेश गरेको हुँदा समानुपातिक तर्फका उम्मेदवारलाई मतदान गर्न पाउने भएका छन् । 

निर्वाचन कार्यालयले पर्साका निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई मतदान गर्नका लागि जिल्ला हुलाक कार्यालय परिसर भित्र अस्थायी मतदान केन्द्र स्थापना गर्न लागेको झाले बताउनु भयो । 

वीरगंज कारागारमा रहेको कैदीबन्दी मध्ये ३७ जना र कर्मचारी, सेना, प्रहरी गरी ९ सय ३ जनाले दुई अस्थायी मतदान केन्द्र मार्फत मतदान गर्ने जनाइएको छ । 

पर्सा जिल्लामा प्रतिनिधिसभा ४ निर्वाचन क्षेत्र र प्रदेशसभाको ८ निर्वाचन क्षेत्रका लागि सम्पन्न हुन लागेको निर्वाचनमा २ अस्थायी मतदान केन्द्र सहित ४ सय १४ मतदान केन्द्र तोकिएको छ ।

पर्साका १४ पालिकामा १ सय ६७ वटा मतदान स्थल निर्माण गरिने भएको छ । जिल्लामा यस पटक ३ लाख ४५ हजार ९ सय २८ जना मतदाताले मतदान गर्न पाउने भएको जिल्ला निर्वाचन प्रमुख रन्जिता झाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button