तपाईँ सुन्दै हुनुहुन्छः

‘स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउँछौँ’

दमौली । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल कानुन समाजको आयोजनामा आज दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रियामा आयुक्त तुलाधरले लोकतन्त्रमा आवधिक निर्वाचन महत्त्वपूर्ण आधार स्तम्भ भएको उल्लेख गर्नुभयो । सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधरको भनाइ थियो । तुलाधरले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो ।

आयुक्त तुलाधरले मितव्ययी हिसाबले निर्वाचन सम्पन्न गराउने तयारी गरिएको बताउँदै निर्वाचन खर्च परिमार्जन गरिएको उल्लेख गर्नुभयो । निर्वाचन खर्चका सन्दर्भमा आयोगले तोकेको मापदण्डबमोजिम तथ्याङ्क राख्न आग्रह गर्दै तुलाधरले भन्नुभयो, “यस विषयमा आयोगले सूक्ष्म रूपमा अध्ययन गरिरहेको छ ।”

संविधान र कानुनबमोजिम आयोग आफ्नो कर्तव्य पालनामा प्रतिबद्ध रहेको बताउँदै तुलाधरले आयोगको काममा सरोकारवाला निकायको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन लोकतन्त्रको आधुनिक जग भएको बताउँदै निर्वाचनको महत्त्वपूर्ण कडी आचारसंहिता भएको उल्लेख गर्नुभयो । सो अवसरमा श्रेष्ठले निर्वाचन आचारसंहिताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल कानुन समाजका तर्फबाट अधिवक्ता मोहन आचार्यले सङ्घ र प्रदेश सदस्यको निर्वाचन खर्च र प्रचार–प्रसारका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button