सुनसरीमा मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक
सुनसरी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सोमबारदेखी मङ्सिर ४ गतेसम्म सुनसरीमा मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गरि निर्वाचनको मिति नजिकिएसँगै मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाइएको जनाएको छ ।
कात्तिक २१ गतेदेखि मतपरिणाम पूर्ण सार्वजनिक नभएसम्म मदिरा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको कार्यालयले जनाएको छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खलबल्याउने तथा निर्वाचन आचारसंहिताको उल्लङ्घनका घटना बढ्ने भन्दै मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
यस्तै जिल्लामा भइरहेका राजनीतिक दलका सभा, सम्मेलनमा बालबालिकाको प्रयोग, सार्वजनिक ठाउँमा दलका झन्डा लगायत उम्मेदवारका प्रचार सामग्री भेटिन थालेकाले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
कोही कसैबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भए वा गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो ।
निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले दुई भन्दा बढी सवारी साधन प्रयोग गर्ने गरेको र अनुमति नलिएरै सवारी सञ्चालन गर्दै आएको भन्दै राजनीतिक दलको ध्यानाकर्षण समेत गराइएको छ ।






प्रतिक्रिया राख्नुहोस्