तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्वारा विशेष अदालतको १२४ फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको साउन यता १२४ वटा भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

आयोगले विशेष अदालतमा दर्ता गरेका मुद्दामा सफलता दर निकै कम भएपछि विभिन्न फैसलामा असन्तुष्टि राख्दै विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्नुपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारले १२४ वटा मुद्दामा करिब ४२ करोड १६ लाख रुपैयाँ बिगो मागदाबी रहेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले विशेष अदालतका कतिपय फैसलाहरू यसअघिका नजिर र न्यायिक मान्यतासँग बाझिएकाले तथ्य र आधारमा रही पुनरावेदन गरिएको बताउनुभयो ।

गत आर्थिक वर्षमा अख्तियारको सफलता दर दशककै कम देखिएको र यो सफलता ३८ प्रतिशतमा खुम्चिएको  प्रवक्ता भण्डारीले बताउनुभयो ।

रंगेहात मुद्दाका आधारमा अख्तियार विगतमा सफलता दर बढाउन सफल भएको थियो ।

सर्वोच्च अदालतले भने २०७८ असारमा रंगेहात घुसका मुद्दामा अख्तियार आफैँले प्रमाणको सिर्जना गर्न नसक्ने व्याख्या गरेपछि अख्तियारबाट दायर मुद्दामा सफलता दर कम हुँदै गएको देखिएको हो ।

अख्तियारले पप्पु कन्सटर्कसनकोे पुल, मालपोतको नक्कली जग्गाधनी विवाद, रंगेहात पक्राउ घटना लगायतका विवाद जोडिएका मुद्दामा पुनरावेदनमा जानुपरेको  जनाएको छ । 

कार्यक्रममा ठूला र अन्य चर्चाका मुद्दाहरूमा अख्तियारको चासो किन नपुगेको चर्चा हुने गरेको छ नि भन्ने सञ्चारकर्मीको एक जिज्ञासामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले त्यस्ता मुद्दाहरू अनुसन्धानको प्रक्रियामै रहेकाले अहिले त्यसको चर्चा नगरिए पनि अनुसन्धान पुरा भएपछि आयोगले सार्वजनिक गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button