तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन शुरु 

टीकापुर कैलाली । कैलालीमा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन शुरु भएको छ । 

पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा पहिलो दिन आज सोमबार कैलाली क्षेत्र नम्बर १ को टीकापुरबाट तालिम दिन शुरु गरिएको छ । 

पाँच दिनसम्म चल्ने तालिम भोलि २२ गते क्षेत्र नम्बर २ मा, २३ गते ३ मा, २४ गते ४ र २५ गते क्षेत्र नम्बर ५ मा सञ्चालन गरिनेछ । 

पाँच वटै निर्वाचन क्षेत्रका ६२९ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिने जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । 

तालिमलाई निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्ट, मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालसहित ५ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरूले सहजीकरण गरिरहनुभएको छ । 

तालिममा प्रशिक्षण दिँदै मुख्य निर्वाचन अधिकृत अर्यालले संविधान र निर्वाचन आयोगले दिएको अधिकारभित्र रहेर काम गर्न मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । 

मतदानका समयमा विभिन्न किसिमका समस्याहरू आउन सक्ने र ती समस्यालाई समाधान गर्ने तरीकाले आफू तयारी भएर मतदान स्थलमा खटिन समेत उहाँले आग्रह गर्नुभएको छ । पहिलो दिन आज क्षेत्र नम्बर १ का १२५ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button