तपाईँ सुन्दै हुनुहुन्छः

उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र परीक्षण

सोल ।  ‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकराबको उन्माद भन्दै आएको उत्तर कोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ ।  

प्योङयाङले पश्चिमी समुद्रमा चार वटा छोटो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको दक्षिण कोरियाली जनाउँदै उसले उत्तर कोरिया परमाणु हतियार परीक्षण पुनः सुरु गर्ने तयारीमा रहेको बताएको छ । 

दक्षिण कोरियाले प्योङयाङका उत्तेजक गतिविधिलाई दृढतापूर्वक जवाफ दिने बताउँदै कोरिया र अमेरिकाको संयुक्त प्रतिरक्षा क्षमता क्षीण नभएको चेतावनी दिएको छ । 

प्योङयाङले शुक्रबार संयुक्त राज्य अमेरिका र दक्षिण कोरियालाई उत्तेजक वायुसेनाको अभ्यास रोक्न माग गरेको थियो । अभ्यासका क्रममा सुपरसोनिक बमवर्षक विमानसमेत समावेश गरिएपछि चिढिएको उत्तर कोरियाले संयुक्त सैन्य अभ्यास समाप्त हुनेबित्तिकै फेरि क्षेप्यास्त्र परीक्षण गरेको हो । 

वायु सेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकु विमानसहित दुई सय ४० विमान समावेश थिए । उक्त अभ्यासबाट आक्रोशित प्योङयाङले गत साता समुद्रमा दर्जनौँ क्षेप्यास्त्र प्रक्षेपण गर्नाका साथै अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसले आन्तरिक रूपमा युद्ध विमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश प्रवाह गरेको थियो । 

यसैबीच, संयुक्त राज्य अमेरिका तथा उसका सहयोगी एवम् चीन र रूसका कूटनीतिज्ञबीच राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गम्भीर मतभेद भएको छ । 

अमेरिका र उसका सहयोगीले चीन र रूसको संरक्षणमा प्योङयाङले क्षेप्यास्त्र परीक्षणलाई तीव्र गतिमा अघि बढाएको आरोप लगाउँदै त्यसले कोरियाली प्रायद्वीपमा दिगो शान्ति तथा स्थायित्व कायम गर्ने प्रयास निरर्थक भएको र निःशस्त्रीकरणसम्बन्धी सुरक्षा परिषद्का प्रस्ताव उल्लङ्घन भएकामा आपत्ति जनाएका छन् । रासस/एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button