सिन्धुपाल्चोकमा नमूना मतदान कार्यक्रम सुरु

चौतारा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोकमा नमूना मतदान कार्यक्रम सञ्चालन भएको छ ।
निर्वाचनमा हुने बदर मत सङ्ख्या न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय, सिन्धुपाल्चोकले आज आइतबारबाट नमूना मतदान कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रम अन्तर्गत आज जिल्ला सदरमुकाम चौतारास्थित श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा नमूना मतदान कार्यक्रमको आयोजना गरेको जिल्ला निर्वाचन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालका अनुसार नमुना मतदान कार्यक्रम कूल ८५ मत खसेका थिए । त्यसमध्ये प्रतिनिधिसभा सदस्य (पहिलो हुने, निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत )प्रत्यक्षतर्फ ७५ मत, समानुपातिकतर्फ ७८ मत सदर भएको छ ।
प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ ८० मत र समानुपातिकतर्फ ७६ मत सदर भएको छ ।
नमूना मतदान कार्यक्रम जिल्लाका १२ वटा नै पालिकामा सञ्चालन गरिने पनि निर्वाचन कार्यालयले जनाएको छ ।
यसअघि, जिल्लाका १०३ वटा वडामा नै कार्तिक १७ गतेबाट मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ ।
त्यस्तै, मुख्य निर्वाचनको कार्यालयले निर्वाचन सम्बन्धी तयारीलाई तीव्र पारेको छ । कार्यालयले आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै मतदान केन्द्रमा २ हजार ८ सय ३८ कर्मचारी परिचालन हुने र सो को छनौट समेत भइसकेको जनाएको छ ।
मतदान अधिकृत र सहायक अधिकृतहरूका लागि यो हप्ताभित्र नै तालिम पनि सञ्चालन हुने मुख्य निर्वाचन अधिकृत विदुर कोइरालाले जानकारी दिनुभयो ।
जिल्लालाई आवश्यक समानुपातिक तर्फका दुवै मतपत्र आइपुगेको र प्रत्यक्षतर्फका मतपत्र आज आइपुग्ने पनि उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्