घर–आँगनमै सामाजिक सुरक्षा भत्ता
फुङ्लिङ I फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ । ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको थालनी गरेको हो ।
भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता लिन आउजाउ गर्न सास्ती खेप्दै आउनुपरेको थियो । तर शनिबारदेखि गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरु गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले बुवामालाई सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याउने प्रतिबद्धता गरेका थियौँ, कोसिस गर्दागर्दै विविध समस्याका चाङ लाग्यो, केही ढिला भए पनि अहिले बुवा आमाको दुःख अन्त्य भएको छ ।” गाउँपालिकाका जनप्रतिनिधि, वडा सचिव र बैंकका कर्मचारी घरआँगनमा पुगेर भत्ता वितरणको थालिएको फक्ताङलुङ पञ्जिकरण शाखाले जनाएको छ ।
फक्ताङलुङ –२ खेजेनिमका ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घर आँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता भुपेन्द्र चौलागाईँले बताउनुभयो । उहाँका अनुसार प्रत्येक ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियान हुने छ । रासस






प्रतिक्रिया राख्नुहोस्