संस्कृतिको संरक्षण गर्न मेघौलीमा साझा ‘कल्चर हाउस’ निर्माण

मेघौली । थारु, कुमाल, दराई, बोटे आदि आदिवासीहरूको मौलिकता र सांस्कृतिक सभ्यतालाई संरक्षण गर्न निर्माण भएको छ ।
मेघौली क्षेत्रभित्र बसोबास गर्ने समुदायका कला–संस्कृति, रहनसहन र परम्परागत शैलीलाई प्रदर्शन गराउने लक्ष्यसहित बहुसांस्कृतिक भवन बनाइएको हो ।
बागमती प्रदेश सरकार वन, पर्यटन, उद्योग तथा वातावरण मन्त्रालय, पर्यटन विकास आयोजनाले गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ रकम छुट्टयाएर भवन निर्माण सुरु गरिएको थियो ।
निर्माण काम अधुरो रहेपछि बागमती प्रदेश सरकारको पर्यटकीय गन्तव्य विकासका निम्ति विनियोजित रकमबाट बहुसांस्कृतिक भवन थप निर्माणका निम्ति २ लाख ६७ हजार थप रकम विनियोजन गरिएको निवर्तमान बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले जानकारी दिनुभयो ।
चितवनको पर्यटकीय गन्तव्यको रुपमा परिचित यो ठाउँमा आउने पर्यटकहरूका लागि सांस्कृतिक कार्यक्रममा रमाउन सहज माध्यम बन्ने भुर्तेलले बताउनुभयो । मेघौलीमा थारु समुदायले २०६७ माघ १० गतेदेखि होमस्टे सुरु गरेका थिए । पाँच घरबाट सुरु भएको होमस्टे अहिले आठ वटा घरमा सञ्चालित छ । बहुसांस्कृतिक भवनले होमस्टेलाई सांस्कृतिक कार्यक्रम देखाउन सहज हुने उहाँको भनाई छ ।
अल्पसङ्ख्यक आदिवासी कुमाल जातिको मौलिक कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै जीवन्त राख्नका लागि भरतपुर–२८, पर्सा बजारमा कुमाल सङ्ग्रहालयको निर्माण भइरहेको छ ।
अधुरो सङ्ग्रहालयको बाँकी संरचना निर्माणका निम्ति बागमती प्रदेश सरकारले पर्यटकीय गन्तव्य विकासका निम्ति थप १ लाख ४१ हजार विनियोजन गरेको छ । सो रकमले कुमाल सङ्ग्रहालयको गेट बनाउन लागिएको सङ्ग्रहालयका अध्यक्ष जयमंगल कुमालले बताउनुभयो ।
सङ्ग्रहालयमा कुमाल जातिको मौलिक कला, संस्कृति, परम्परा र संस्कारको संरक्षण र संवर्द्धन सामान राखिने उहाँले बताउनुभयो ।
माछा मार्नका लागि प्रयोग हुने पुराना सामग्रीहरु, कुमाल जातिको जन्म संस्कार, विवाह संस्कार, मृत्यु संस्कारका निम्ति चाहिने सामग्रीहरु, कुमाल समुदायका पहिरन पुरुषहरूको सेतो कोराको टोपी, सेतो लँगौटी र तीन हात बराबरको कछाड, टाउकोमा फेटा बाँधी पछाडि कम्मरमा खुर्पेटो र महिलाहरूको गुन्यू चोली, नाकको बुलाकी, कानको ढुङ्ग्री र गलामा लगाउने विभिन्न किसिमका माला सङ्ग्रहालयमा राखिने अध्यक्ष कुमाल बताउनुहुन्छ ।
यस्तै, भरतपुर–२७ मेघौलीमा मगर सांस्कृतिक सङ्ग्रहालय शुभारम्भ भएको छ । पूर्वमन्त्री विक्रम पाण्डेद्वारा उद्घाटन गरिएको यो सङ्ग्रहालय नेपाल मगर प्रारम्भिक समिति मेघौली, शुक्रनगर र जगतपुरद्वारा निर्माण गरिएको हो ।
सङ्ग्रहालयका लागि देउमाया थापामगरले भूमि दान गर्नुभएको थियो । सङ्ग्रहालयमा मगर जातिको संस्कृति झल्कने खालका सामान राखिएको छ भने विसं ०५५ सालदेखि मेघौली विमानस्थल परिसरमा आदिवासी थारु समुदायको परम्परा र संस्कृति झल्कने थारु सांस्कृतिक सङ्ग्रहालय सञ्चालनमा छ ।
सङ्ग्रहालयमा थारु समुदायको जन्मदेखि मृत्युसम्मको संस्कृतिसँगै थारु समुदायले परम्परादेखि प्रयोग गर्दै आइरहेका विभिन्न हातहतियार, पोसाक, भाँडाकुँडा तथा सङ्ग्रहालयको भित्री भित्ताहरूमा थारु समुदायहरूको परम्परा, संस्कृति, रीतिरिवाजलाई चित्रमा देखाइएको छ ।
मेघौलीको पर्यटनलाई टेवा दिनका लागि यो सङ्ग्रहालयले निकै मद्दत पुर्याउन सक्छ । तर, हाल यो सङ्ग्रहालय प्रचारप्रसारको अभावमा पर्यटकलाई आकर्षित गर्न नसक्नुका साथै भरतपुर महानगरअन्तर्गत पर्ने पश्चिम चितवनका ६ वडा थारु जातिको बसोबास रहेको क्षेत्र मानिए पनि थारु सङ्ग्रहालय पर्यटकको अभावमा सुनसान देखिन थालेको बताउनुहुन्छ, थारु सांस्कृतिक सङ्ग्रहालयका अध्यक्ष मायाराम चौधरी ।
राष्ट्रिय निकुञ्जको मुख्य पर्यटकीय मुटु रहेको यो क्षेत्र पाटे बाघ, गैँडा, विभिन्न जातका चराचुरुङ्गी, गोहीलगायत अनेक प्रजातिका उभयचर एवं चलचरहरुको मुख्य बासस्थान पनि हो ।
यस क्षेत्रका अन्य प्रमुख पर्यटकीय स्थलहरूमा ९ वटा सामुदायिक वनहरू, गोलाघाट सूर्यास्तको अनुपम स्थल, राप्ती, नारायणी नदीको संगमस्थल पनि हो ।






प्रतिक्रिया राख्नुहोस्