तपाईँ सुन्दै हुनुहुन्छः

‘पर्ख र हेर’ को मनस्थितिमा म्याग्दीका पाका मतदाता

गलेश्वर I म्याग्दीमा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने सङ्केत देखिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्वीर) र नेकपा (एमाले) का तर्फबाट पूर्व पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठबिच प्रतिस्पर्धा हुने देखिएकाले यस पटकको निर्वाचन पेचिलो बन्ने विश्लेषण हुन थालेको हो ।  चुनावका लागि जिल्लामा उम्मेदवारहरू एक अर्काको भोट बैङ्क भएका क्षेत्रलाई कब्जा गर्ने रणनीतिसहित चुनावी मैदानमा होमिएका छन् ।

दुवै पक्षका उम्मेदवारले आफ्नो जित निश्चित भएको जिकिर गर्दै आएका छन् । सत्ता गठबन्धनतर्फका उम्मेदवार गर्बुजाले म्याग्दीमा विसं २०५६ यता कम्युनिस्टले एक क्षत्र राज गर्दै आएको र कम्युनिष्टको यो किल्ला यस पटकको निर्वाचनबाट ढल्ने बताउनुभएको छ भने एमालेका उम्मेदवार श्रेष्ठले गठबन्धनकै समर्थकको भोटले आफूले चुनाव जितेर देखाउने चुनौती गर्बुजा लगायत गठबन्धनका नेतालाई दिनुभएको छ ।

यतिखेर दुवै पक्षका उम्मेदवार गाउँगाउँमा पुगेर आमसभा गरिरहेका छन् मतदाता रिझाउन उम्मेदवारले कुनै कसर बाँकी राखेका छैनन् । विभिन्न पार्टीका र स्वतन्त्र हैसियतमा पनि प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका लागि उम्मेदवारी दिइएकाले किसानका खेतबारीमा नै पुगेर काम सघाउँदै मतदाता रिझाएर आफ्नो पक्षमा मत दिन उम्मेदवारहरूले आग्रह गरिरहेका छन् तर जिल्लाका पाका मतदाता यस पटकको निर्वाचनमा निकै सोच विचार गरेर मात्र भोट खसाल्ने मनस्थितिमा पुगेका छन् । 

कुनै पार्टीको ओतमा नओतिइकन राम्रो र इमान्दार उम्मेदवारलाई ठम्याएर मात्र मत दिने मनस्थितिमा रहेको उनीहरूको भनाइ छ । जिल्लाका छवटै स्थानीय तहका प्रतिनिधिमूलक पाका मतदातासँग ‘यस पटक कस्तो उम्मेदवारलाई भोट दिँदै हुनुहुन्छ रु’ भन्ने राससको जिज्ञासामा प्रायः सबैले एउटै आशयको जवाफ ‘दिए पर्ख र हेर’  ।

‘पर्ख र हेर’ को मनस्थितिमा पाका मतदाता

यहाँका मतदातामा कुन पार्टीको कुन उम्मेदवारलाई भोट दिने भन्नेबारे अझै खुल्न सकेका छैनन् । ज्येष्ठ, दलित र महिला मतदाता भने अहिले ‘पर्ख र हेर’को मनस्थितिमा रहेको पाइएको छ  । इमान्दार र जनताका लागि काम गर्नसक्ने उम्मेदवारको पक्षमा मत खसाल्न पाका मतदाता इच्छुक देखिएका छन् ।

रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका ६९ वर्षीय रणबहादुर छन्त्यालले पञ्चायत कालदेखि गणतन्त्रसम्म पटक पटक मतदान गरे पनि आशा गरेजस्तो उपलब्धि प्राप्त नभएको बताउनुभयो ।  “चुनावमा भोट हालेर नेतालाई त जितायौँ तर ती नेताले हाम्रो मन जित्ने गरी कामै गरेनन्”, चुनावअघि र चुनाव जितेपछि नेताको बोली र व्यवहारमा परिवर्तन आउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भोट नदिऊ भने पनि बल्लबल्ल आउने मौका गुमाउनुभएन, दिऊ भने पनि मनले खाएको योग्य व्यक्ति कोही हुँदैनन् । त्यसैले कसलाई भोट दिने भनेर अहिलेसम्म निधो गर्नै सकिएको छैन ।”

त्यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका ६६ वर्षीय न्यून दृष्टि भएका आइतबहादुर दर्जीले चुनावमा जसलाई भोट दिए पनि आफूजस्ता गरिब र दृष्टिविहीनका लागि कसैले पनि सहयोग  नगरेको बताउनुभयो । “मैले आजसम्म धेरै जनालाई भोट दिएँ तर चुनावपछि कसैले पनि तेरो अवस्था के छ रु के खाएर बाँचेको छस् भनेर सोध्न आएनन्”, पर्ती जग्गामा सानो छाप्रो बनाएर बस्दै आउनुभएका उहाँले भन्नुभयो, “देश विदेशमा रहेका केही मनकारी व्यक्तिको सहयोगले आजसम्म बाँचेको छु, नेताको आशा गरेर बसेको भए उहिल्यै मरिसक्थेँ ।” दर्जीले आउँदै गरेको निर्वाचनका लागि आजका दिनसम्म कोही पनि मलाई भोट देऊ भनेर आफूसँग नआएका बताउँदै गाउँका जान्ने सुन्ने र भद्र भलाद्मीले जसलाई भोट देऊ भन्छन् उसैलाई दिने बताउनुभयो ।

त्यसैगरी मालिका गाउँपालिका–५ देवस्थानकी ५९ वर्षीया टकदेवी विकले चुनाव र चाडपर्व आफूलाई कहिल्यै पनि नआइदिए हुन्थ्यो जस्तो लाग्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मलाई त चुनाव र चाडपर्व भन्यो की रिस मात्रै उठ्छ, चुनावका बलेलामा नेता आउँछन्, मीठामीठा कुरा सुनाउँछन्, जितेर गए भने हामीलाई सधैँ निरासमात्र बनाउँछन्, चाडपर्व आउँदा पनि अरू रमाउँछन्, हामीलाई साँझको गुजारा कसरी चलाउने भन्ने पिरलो हुन्छ ।” मङ्सिर ४ गते हुने चुनावमा कसलाई भोट दिने भन्ने आफूलाई अहिलेसम्म थाहा नभएको विकले बताउनुभयो ।

यसैगरी मङ्गला गाउँपालिका–३ वरङ्जाका ५३ वर्षीय खगेश्वर सापकोटाले अहिलेको चुनावमा यो पार्टी र त्यो पार्टी नभनी इमान्दार र ‘भिजनेवल’ उम्मेदवारलाई हेरेर भोट दिने बताउनुभयो । “अहिलेसम्म ठ्याक्क यसैलाई दिन्छु भनेर निधो गरिसकेको छैन तर पार्टी नहेरीकन अलि राम्रो र इमान्दार उम्मेदवारलाई भोट दिने मनस्थितिमा हामी छौँ”, उहाँले भन्नुभयो । सापकोटाले सबै पार्टीका उम्मेदवारको प्रतिबद्धता पत्र र पार्टीका घोषणापत्र पढेर, उम्मेदवारसँग प्रत्यक्ष कुराकानी गरेर र उनीहरूको क्षमता बुझेर मात्र अहिलेको निर्वाचनमा भोट दिने बताउनुभयो ।

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाका ४८ वर्षीय मनोज पुनमगरले यसअघिका निर्वाचनमा भाग लिएका उम्मेदवारले विभिन्न आश्वासन बाँडे पनि जितेर गएकाले वाचा गरे अनुसारको काम नगरेको गुनासो गर्नुभयो । त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाकी रमा बराइलीले उम्मेदवारले गुलियो आश्वासन बाँड्नुभन्दा पनि आफूले गर्नसक्ने काममा मात्र मतदातालाई आश्वस्तपार्नुपर्ने बताउनुभयो ।जितेर जानेले जनताको मन बुझेर आ–आफ्नो क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले  मत भने कसलाई दिने भनेर अझै निर्क्योल गरिनसकेको बताउनुभयो ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ जना, प्रदेशसभा क्षेत्र (क)  र (ख) मा पाँच÷पाँच जना उम्मेदवार छन् । विसं २०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए । प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो ।

विसं २०७४ मा एक प्रदेशसभा माओवादी र अर्कोमा एमालेले जितेको थियो । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । गत स्थानीयको तह निर्वाचनमा एमालेले चार वटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, काँग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्षसहित १७ वडा, माओवादीले दुई उपप्रमुख र छ वटा वडा जितेका थिए । स्थानीय तहको चुनावमा एमालेका वडा अध्यक्षका उम्मेदवारले २३ हजार ९०, काँग्रेसले १९ हजार आठ  सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।

छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको छ भने प्रदेशसभा क्षेत्र ९क० मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धौलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको छ । प्रदेशसभा क्षेत्र ९ख० मा ३७ हजार छ सय ४८ गरी जिल्लाभरि जम्मा ८६ हजार एक सय २० जना मतदाता छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button