जङ्गली हात्तीका कारण निकुञ्ज वरपरको क्षेत्रका बासिन्दा आतङ्कित

बारा । जङ्गली हात्ती (यमगज) का कारण पर्सा राष्ट्रिय निकुञ्ज वरपरको क्षेत्रका स्थानीय बासिन्दा आतङ्कित छन् । एक महिलाको ज्यान लिइसकेको उक्त जङ्गली हात्ती बाराको अमलेखगंज, पथलैया, दुधौरालगायतको क्षेत्रमा दिनहुँ जसो देखिन थालेको छ ।
यमगज हिजो साँझ जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ स्थित दुधौरा खोलाको बस्तीमा देखियो । यमगजको आतङ्कका कारण दुधौराका केही स्थानीय पथलैया आएर रात कटाएका छन् । रात्री समयमा बस्ती पस्ने गरेका कारण पनि यस क्षेत्रका स्थानीयमा त्रास बढ्दो छ ।यमगजको आतङ्क नरोकिएपछि पर्सा राष्ट्रिय निकुञ्जले हात्तीको शरीरमा रेडियो कलर प्रविधि जडान गर्ने तयारी गरेको छ ।

उक्त प्रविधि जडान गरेपछि हात्ती कुन क्षेत्रमा रहेको जानकारी हुने र जनधनको क्षतिबाट जोगाउन सकिने आरक्षको भनाई छ । हात्ती विज्ञसमेत रहेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जङ्गली हात्तीले दुःख दिन थालेपछि अपनाउने विधिहरूमध्ये दुई विधि प्रयोग गरिसकेको र अब तेस्रो विधि रेडियो कलर रहेको बताए ।
उनका अनुसार हात्तीले दुःख दिन थालेपछि पहिलो पटक धपाउने वा खेद्ने हो । धपाउँदा वा खेददा समेत अटेर गरेमा दोस्रो विधि दारा काटेर छोडेने गरिन्छ । दारा काटेर छाडेपछि कतिपय हात्ती शान्त भएर अन्यत्रै जाने र यस वरपरको क्षेत्रमा नदेखिने रामले बताउनुभयो । तर यमगजले यस क्षेत्र नछोडेपछि तेस्रो विधि अन्तर्गत रेडियो कलर जडान गर्नुपर्ने देखिएको रामले जानकारी दिनुभयो ।
उक्त प्रविधि जडान गरेपछि हात्तीलाई मानव बस्तीमा प्रवेश हुन नदिनका लागि रेडियो कलरमार्फत हात्तीको अवस्थामा जानकारी हुने र गस्तीमार्फत धपाउन सकिने रामले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्