तपाईँ सुन्दै हुनुहुन्छः

कपुरकोट गाउँपालिकाले शारीरिक अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार गर्ने

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले शारीरिक अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । विभिन्न किसिमका समस्या व्यहोर्न नपरोस् र आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले शारीरिक अपाङ्गता भएकाहरूको निःशुल्क उपचार गर्ने भएको हो ।

विकलाङ्ग समूह तथा अपाङ्ग बालबालिकाको निःशुल्क उपचार गर्न कपुरकोट गाउँपालिकाले अपाङ्ग बाल अस्पताल पुनः स्थापना केन्द्र बनेपासँग पाँच वर्षीय सम्झौता गरेको छ । सम्झौताअनुसार गाउँपालिकाले आफ्नो पालिकाभित्रका १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनः स्थापना, सहायक सामग्री तथा कृत्रिम अङ्ग उपलब्ध गराउनेछ ।

आर्थिक अभावका कारण सामान्य उपचारबाट वञ्चित भई विभिन्न किसिमका समस्या भोग्दै आएका बालबालिकाको उपचार गर्न र उनीहरुलाई सामान्य अवस्थामा फर्काउन निःशुल्क उपचार गर्न थालिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले बताउनु भयो । अपाङ्गता भएका बालबालिकालाई आवश्यकताअनुसार शिविर सञ्चालन गरेर उपचार गरिने उहाँको भनाई छ ।

उहाँका अनुसार गत वर्षको तथ्यांकअनुसार कपुरकोट गाउँपालिकामा विभिन्न किसिमका शारीरिक अपाङ्गता भएका झन्डै ३ सय बालबालिका छन् । आउँदा दिनमा यस्ता समस्या आउन सक्ने भएकाले बालबालिका आफैँ हिँड्न सक्नेछन् । खुट्टा नभएकालाई कृत्रिम खुट्टा राखिने छ भने बाङ्गिएकाहरूले शल्यक्रिया गरेर सोझो बनाइनेछ ।

अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार गर्न अपाङ्ग बाल अस्पताल पुनः स्थापना केन्द्र बनेपासँग सम्झौता भएपश्चात् पुनः स्थापना केन्द्रले ८५ प्रतिशत सहयोग गर्ने र १५ प्रतिशत पालिकाले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले बताउनु भयो । विगतमा बाल अस्पताल पुनः स्थापना केन्द्रले कहिलेकाहीँ शिविर सञ्चालन गरेर उपचार गर्दै आए पनि पालिकाले नियमित उपचार गर्न थालेको पहिलो भएको उहाँले जानकारी दिनु भयो ।

अपाङ्गता पुनः स्थापना केन्द्रका सुपरभाइजर होमराज केसीले सल्यानका १० पालिकामा अपाङ्गता भएका धेरै बालबालिका भएका र विगतमा पनि शिविर सञ्चालन गरेर उपचार गर्ने क्रममा सबैलाई समेट्न नसकेपछि पालिकाअनुसार सम्झौता गरेर विशेषज्ञ टोलीसहित उपचार गर्न थालिएको बताउनु भयो । यस कार्यले पालिकाका सबै अपाङ्गता भएका बालबालिकाले सहज उपचार पाउने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button