सुदूरपश्चिमको प्रसिद्ध डौँठेगडा मेला कात्तिक २२ गते हुने
अछाम । सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक डौंठेगडा दसैँ मेला यसवर्ष कात्तिक २२ गते हुने भएको छ ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासिक डौंठेगडाको दसैँ मेला कार्तिक शुक्ल पूर्णिमाको दिन वर्ष लाग्ने गर्दछ ।
डौंठेगडा दसैँ मेला वि.स. १८४९ सालदेखि निरन्तर रूपमा मनाइँदै आइएको छ । डौंठेगडामा सयौँ राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ ।

डौंठेगडा मेलाको इतिहास
आफ्नो मनोकाङ्क्षा पुरा होस् भनेर बर्दादेबी मातालाई राँगा बोकाको भाकल गरिन्छ । मनोकाङ्क्षा पुरा भयो भने यहाँ राँगा बोकाको बली चढाउने परम्परा परापूर्वकालदेखि नै चलिआएको छ ।
तत्कालीन समयमा नेपालमा बाइसे चौबीसै राज्य भएको बेला खप्तडी खड्का श्री सिकिन्दर खड्काको पालादेखि नै डौँठेगडामा मेला सुरुवात भएको इतिहास रहेको पाइन्छ । तत्कालीन समयमा गाउँका मुखियाको टाउको काट्नु भन्ने आदेश राजाबाट आएपछि राजाको आदेशमा अछामका गाउँगाउँमा रहेका मुखियाहरूलाई प्रहरीले पक्राउ गर्दै लिएको थियो ।
सोही क्रममा गाज्राका मुखिया सिकिन्दर खड्कालाई पनि त्यो बेलाको प्रहरीले पक्राउ गरी लिएको र संयोग बस उनलाई लिने प्रहरी प्रमुख उनका मित रहेका डौँठेगडा मेलाका जानकार थिर बहादुर खड्काले बताउनुभयो ।
जब उहाँलाई काट्न अछाम र दैलेखको सीमाना कर्णाली नदीको किनार बेलखेतमा पुर्याइयो र उनलाई काट्नलाई उनकै मीत प्रहरी आए ।

काट्न आएका खड्काका मीत प्रहरीले उनलाई भने, तपाई आफूले पुज्ने देबी देउतालाई सम्झनुहोस्, सिकिन्दर खड्काले बरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हाम फालेर सकुशल नदी तरेको डौंठेगडाका जानकार थिर बहादुर खड्का बताउँछन् ।
पौडी खेल्न नसक्ने खड्काले आफू नदी तरेर पारी जना सकेपछि डौँगेगडामा दौडाउँदै राँगाको बली चढाउने भाकल गरेका थिए । सहजै नदी पार गरेपछि गाउँमा फर्किएर तिनै खड्काले डौंठेगडामा दौडाउँदै राँगाको बली दिएर दसैँ मेलाको सुरुवात गरेको भनाई छ ।
त्यो बेलादेखि नै यहाँ दसैँ मेला लाग्ने गर्दछ । आफ्नो मनोकाङ्क्षा पुरा भए दौडाउँदै राँगाको बली दिने भाकल गरिन्छ । मनोकाङ्क्षा पुरा भए राँगालाई दौडाएर बली चढाउने परम्परा छ । यहाँ अछामबाहेक बाजुरा, डोटी, कैलालीलगायत देश विदेशबाट मेला भर्न हजारौँको उपस्थित हुन्छन् ।






प्रतिक्रिया राख्नुहोस्