तपाईँ सुन्दै हुनुहुन्छः

निकुञ्जको सक्रियताका कारण धमाधम राजश्व बुझाउँदै हेलिकोप्टर कम्पनीहरू

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको सक्रियताले विगत वर्षदेखि नै अटेर गर्दै आएका विभिन्न हेलिकोप्टर कम्पनीहरूले धमाधम राजस्व बुझाउन थालेका छन् ।
निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर ल्याण्डिङ गरेबापत दुई आर्थिक वर्षदेखिको करिब सवा करोड बेरुजु बुझाउन हेलिकोप्टर कम्पनीले अटेर गरेपछि कारबाही प्रक्रिया निकुञ्जले अघि बढाएको थियो ।
आफूखुसी निकुञ्ज क्षेत्रमा उडान तथा अवतरण गर्दै आएका हेलिकोप्टर कम्पनीहरूलाई निकुञ्जले कडाइ गरेपछि एक करोड ११ लाख ६२ हजार ५४२ रुपियाँ राजस्व सङ्कलन भएको छ ।
निकुञ्जले आर्थिक वर्ष २०७८/०७९ मा १० वटा हेलिकोप्टर कम्पनीबाट एक करोड तीन लाख २५ हजार ५४२ रुपियाँ राजस्व सङ्कलन गरेको छ भने आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको अवधिमा आठ लाख ३७ हजार रुपियाँ राजस्व सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।
यसअघिका वर्षको ११ कम्पनीको एक करोड २५ लाख ६४ हजार रुपियाँ बक्यौता थियो । प्रतिल्यान्डिङ तीन हजार रुपियाँका दरले प्रत्येक दिन राजस्व बुझाउने प्रावधान रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button